स्वास्थ्यचौकी भवन बनाउन सात कठ्ठा जग्गा दान

स्वास्थ्यचौकी भवन बनाउन सात कठ्ठा जग्गा दान


सप्तरीको एक विकट गाउँमा नयाँ स्वास्थ्यचौकी भवन बनाउन बोदेबर्साइन नगरपालिका–९ देउरीकी गगीयादेवी साहले सात कठ्ठा जग्गा दान दिनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सुविधासम्पन्न स्वास्थ्यचौकी बनाउने लक्ष्यअनुरुप नयाँ बन्न थालेको भवनका लागि उहाँले निःशुल्क दान गर्नुभएको हो ।

देउरी स्वास्थ्यचौकीको नाममा जग्गा उपलब्ध भएपश्चात सुविधासम्पन्न भवन निर्माण गर्न आइतबार शिलान्याससमेत भएको छ । बोदेबर्साइन नगरपालिकाका नगरप्र्रमुख आतेशकुमारसिंह यादव, वडा नं ९ का वडाध्यक्ष तपसी यादव र जग्गादाता साहले संयुक्तरूपमा भवनको शिलान्यास गर्नुभयो ।

शिलान्यास गर्दै जग्गादाता साहले स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा आम नागरिकको सहज पहुँच होस् भन्ने हेतुले आफूले स्वास्थ्यचौकीलाई निःशुल्क जग्गा प्रदान गरेको बताउनुभयो ।

चारकोठे स्वास्थ्यचौकी भवन भूकम्पप्रतिरोधात्मक तथा ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री बन्ने बोदेबर्साइन नगरपालिकाका इञ्जीनियर अरबिन्द्रकुमार यादवले बताउनुभयो । उक्त अवसरमा नगरपालिकाले जग्गादाता साहलाई सम्मानसमेत गरेको छ ।