सरकार-जगतप्रसाद आचार्य

सरकार-जगतप्रसाद आचार्य


प्रचण्ड भन्छन् यो सरकार माओवादीको मूल हो
बादल भन्छन् यो सरकार फोरमको गम्भीर भूल हो
वैद्य भन्छन् यो सरकार अस्ताउन लागेको घाम हो
गच्छदार भन्छन् यो सरकारको ऐतिहासिक काम हो ।

ओली भन्छन् यो सरकार भदौको च्याउ हो
माधव भन्छन् यो सरकार हत्याराको माउ हो
सुशील भन्छन् यो सरकार नियम-कानुन मारा हो
पौडेल भन्छन् यो सरकार टिकाइराख्ने पारा हो ।

कोही भन्छन् यो सरकार मागी खाने थाली हो
कोही भन्छन् यो सरकार माछा मार्ने जाली हो
जनता भन्छन् यो सरकार ओइलाएको फूल हो
तर म भन्छु यो सरकार भत्किएको पुल हो ।
हाल युएइ

म खोरको बाख्रो होइन-रामेश्वर राउत मातृदास
म खोरको बाख्रो होइन
जसलाई तिमी काटेर खान सक्छौ
म गोठको भैंसी होइन
जसलाई तिमी दाम्लोले बाँधेर लान सक्छौ

सम्झ ! म तिम्रो आहारा धान्ने सिनो होइन
तिम्रो छद्मबेसी लोलोपोतोको भारी बोकेर
म तिम्रो टाट्नोमा टन्न अन्न बन्न सक्दिनँ
तिमी जस्तोसुकै कठ्याङ्ग्रिदो तुसारो झर,
वार् इष्र्यालु/विषाक्त खडेरी पर
यी निर्दोष फूलहरूलाई मासेर म अपराधीहरूका लागि
म सुनौलो मार्ग बन्न सक्दिनँ ।

मलाई थाहा छ तिमी को हौ
सबैले बुझेका छन्
तिमी कस्तो कर्म/कुकर्म गर्र्छौ
अजम्बरी फूलको शिर काटेर
आफ्नै माटो र बाटोलाई खर्लप्प ढाँटेर
तिमीले ज्युँदै आफैंलाई मासेका छौ
म खोरको….

सत्य/धर्म/न्याय र विवेकको सर्वोदयलाई बारेर
जननीजन्मभूमिको ढुकढुकी/बलिदानीको बहाव
र, प्रेमका अजस्र धारालाई एकलव्य पारेर
कहिल्यै नजित्ने गरी तिमी हारेका छौ
तिमी आफैंले आफूलाई मारेका छौ
उप्रान्त, लाशैलाशको अभिशप्त भार बोकेर म हिँड्दिनँ
र, आफ्नो अदम्य यात्रालाई म आफैं गिँड्दिनँ
म खोरको बाख्रो होइन….

आफूलाई सुरक्षित किनारमा राखेर
अरूलाई सर्वनाश खरानी बन्न सुर्‍यायौ
शिखरमा पुर्‍याउने फोस्लाङे भ्रम छरेर
तिमीले युगलाई एकमुष्ट पाताल पुर्‍यायौ
रोजरोज तिम्रो टाट्नामा
हाम्रै रगत/पसिनाको भोज छ
हिजोजस्तै आज पनि
हाम्रो भागमा त उही दु:ख र आँसुको भेल छ
तिमी खलाँती/ज्युँदै सास फेर्न बिर्सेकालाई मात्र
सदावहार मोजमस्तीको भ्रम छ
गर, अझै हाम्रा यी न्याय र निष्ठाका बस्तीमा
भएजति पीडा र अन्यायको खौलो भर
के समयको आह्वान नै हो त तिम्रो सुख चयन
समयलाई लाछिएको हाँगाको कहिल्यै विश्वास छैन
म खोरको बाख्रो होइन…

झर चर्न बाँकी कहाँकहाँ छन् चर
अभिन्न विश्वास, धरती र अनन्त आकाश
यही रहेछ घर जीवनको भर
ए ˜ विश्वासहीन अनिकालका ढिकी !
यी निर्दोष पन्छीका प्राणपखेरु उडाएर
तिमी अन्धकार आँधीको बयान/तमसुक हौ
भरोसाहीन छौ तिमी गहिराको पैरो/गोहीको आँसु
आफैं मर्जी/आफ्नै निर्णय
बिथोल्न नआऊ तिमी र्व्यर्थका त्रास/भय
अविनाशी घाम र अविचलित जूनसँगै सधैं
जोडिने छ नाता/हुनेछ प्रणय
उप्रान्त, म कहिल्यै अन्धकारको भारी बोक्ने छैन
म खोरको बाख्रो होइन…
-वशिष्ठधाम, निर्झ दिलचेत, सिन्धुबस्ती