चोरीको मोटरसाइकलसहित समातिएका दुई व्यक्ति काठमाडौं चलान

चोरीको मोटरसाइकलसहित समातिएका दुई व्यक्ति काठमाडौं चलान


विकास रौनियार, धादिङ

इलाका प्रहरी कार्यालय गजुरी (धादिङ) द्वारा सादा पोसाकमा खटिएको प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । प्राप्त विशेष सूचनाका आधारमा गजुरी गाउँपालिका वडा नं. ४ बस्ने आशोक तामाङ र बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ बालुवा भन्ज्याङ बस्ने सुवास तामाङ पक्राउ परेका हुन् ।

काठमाडौंबाट चोरी गरी ल्याएको बा ६१ प ९५१० नं. को २२० सिसिको पल्सर मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी बा ६१ प ९५१० नं. को नम्बर प्लेट लगाई बिक्री गर्ने उद्देश्यले गजुरी चालिसेतर्फ ल्याउँदै गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय गजुरी धादिङका सुचना अधिकारी प्रहरी निरीक्षक भोजराज पाण्डेका अनुसार सादा पोसाकमा खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका वडा नं. २ चालिसेबाट वाल्चिङ सुन्दरनागीतर्फ जाने कच्ची बाटोमा २ जनालाई चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । चोरीमा संलग्न व्यक्तिहरुलाई मोटरसाइकलसहित आवश्यक कार्वाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाडौं पठाइएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।