गर्भवतीसहित १५ मा कोरोना सङ्क्रमण

गर्भवतीसहित १५ मा कोरोना सङ्क्रमण


अर्घाखाँचीमा एक गर्भवतीसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगंगा नगरपालिकामा सात, भूमिकास्थान नगरपालिका र पाणिनि गाउँपालिकामा एकएक, छत्रदेव गाउँपालिकाका दुई, मालारानी गाउँपालिकाका तीन र ठेगाना नखुलेका एक गरी १५ जनामा मंगलबार (२ असार) कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेश पौडेलले जानकारी दिए ।

यसैबीच भूमिकास्थानको क्वारेन्टिनबाट भागेका ३५ व्यक्ति पक्राउ परेका छन् । भूमिकास्थान –१ र २ ढाकावाङको क्वारेन्टिनबाट भागेकाहरुलाई प्रहरीले मंगलबार नै पक्राउ गरेको हो ।

गत जेठ २२ गते पिसिआर परीक्षणका लागि पठाइएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टिनबाट भागेका थिए । भागेर घरतर्फ जान हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टिनमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए ।