नुहाउन गएका बालक नदिमै बेपत्ता

नुहाउन गएका बालक नदिमै बेपत्ता


आरके श्रीवास्तव, रौतहट

रौतहटको कटहरिया नगरपालिका ९ डुमरिया गाउँछेउमा रहेको तरहारी झाँझ नदिमा एक बालक बेपत्ता भएका छन् । तीन जनाको समुहमा नुहाउन गएकामध्ये एक बालक पानीमा बगेर बेपत्ता भएका हुन् ।

नुहाउने क्रममा स्थानीय मुकेश पासवानका १० वर्षीया छोरा सुरज पासवान नदिमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए । सँगै नुहाउन गएका तीन जना बालक मंगलबार (२ असार) दिउँसो झाँझ नदिमा बेपत्ता भएका थिए ।

घटनालगत्तै स्थानीय र प्रहरीको टोलीले दुई जनालाई सकुशल उद्द्धार गरेको र एकजना बेपत्ता भएको डिएसपी महतोले जानकारी दिए । बेपत्ता बालकको खोजी भैइरहेको प्रहरीले जनाएको छ ।

पछिल्ला केही दिनदेखि वर्षासँगै नदि तथा खोलामा पटक-पटक बाढी समेत आउन सुरुभएको छ । विभिन्न स्थानीय तहद्वारा विकास निर्माण गर्दा ठाउँ-ठाउँमा खाल्डाखुल्डी भएकाले आफ्ना बालबालिकालाई निगरानी गर्न र कुनै अप्रिय हुन नदिन जिल्ला प्रहरी कार्यालय रौतहटले एक सूचना जारी गर्दै जिल्लावासीलाई आग्रह गरेको छ ।