सिद्धलेक गाउँपालिकालाई सर्जिकल वेड सहयोग

सिद्धलेक गाउँपालिकालाई सर्जिकल वेड सहयोग



विकास रौनियार,
धादिङ

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि धादिङका स्थानीय तहहरुले क्वारेन्टिन तथा आइशोलेसन कक्षहरु निर्माण गरेका छन्, तर स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टिनहरु व्यवस्थित र मापदण्ड नपुगेको भन्ने जनगुनासो आउने गरेका छन् । स्थानीय तहमा देखिएका समस्यालाई केही हदसम्म समाधानको लागि भन्दै फोकस नेपालले बिहीबार सिद्धलेक गाउँपालिका वडा नम्बर १ मा नागेश्वरी आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनलाई सर्जिकल वेड तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

भारतलगायत तेस्रो मुलकबाट आएका नागरिकहरुलाई राख्न निर्माण पूर्वाधार सहितको क्वारेन्टिन व्यावस्थापन र आइशोलेसन निर्माणको लागि सर्जिकल वेड र स्वास्थ्य सामाग्री वितरण गरिएको सम्पन्न रेजिलेन्ट परियोजनाका कार्यक्रम संयोजक जीवन सिलवालले जानकारी दिए । फोकस नेपालले क्रिस्चिएन एडको आर्थिक सहयोगमा सम्पन्न रेजिलेन्ट परियोजनाअन्तर्गत २० ओटा सर्जिकल वेडसहित स्वास्थ्य सामग्री गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाललाई हस्तान्तरण गरिएको संयोजक सिलवालले बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेल, वडाअध्यक्षहरु चन्द्रप्रसाद सिलवाल, रामहरि बराकोटी, लक्ष्मण खतिवडा, फोकस नेपालका कार्य समिति सदस्य तोलाकुमारी पाठक, फोकस नेपालका कर्मचारीहरु, प्रहरी, गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।