भोटको राजनीतिसँगै बढ्यो बक्सिङमा विवाद

भोटको राजनीतिसँगै बढ्यो बक्सिङमा विवाद



– श्रीविक्रम भण्डारी

नेपाल बक्सिङ संघले १४ जिल्ला थपेपछि बक्सिङको राजनीति गर्माएको छ । थपिएका जिल्लाहरूलाई ०७६ साल साउन २५ गते बसेको बक्सिङ संघको कार्यसमितिको बैठकले मान्यता दिए पनि साधारणसभाले भने अनुमोदन नगरेको स्रोतले जानकारी गराएको छ ।

थपिएका जिल्लाहरुमा सिन्धुली, सप्तरी, उदयपुर, दार्चुला, रुपन्देही, धनकुटा, अर्धाखाँची, रुकुम, डोटी, बैतडी, डडेल्धुरा, अछाम, कपिलबस्तु र तेह्रथुम रहेका छन् । १४ जिल्ला थपिएपनि दुई चारवटा जिल्ला वाहेक अन्य जिल्लामा बक्सिङको गतिविधि नै नभएको स्रोतको दाबी छ ।

साथै बक्सिङका गतिविधि भैरहेका जिल्लाहरु बाजुरा, रोल्पा, पर्सा, र प्यूठानलाई संघले सौतेलो व्यवहार गरेकोछ । यी जिल्लाका भोलेन्टियर प्रशिक्षहरुले त्यस क्षेत्रबाट बक्सिङ खेलाडी उत्पादन गरी विभिन्न प्रतियोगितामा खेलाडीलाई सहभागिता गराउँदै आए पनि ती जिल्लाप्रति संघले पूर्वाग्रह राख्दै मान्यता नदिएको स्रोतले खुलासा गरेको छ ।

स्मरणीय छ, विगत चार वर्षदेखि नेपाल बक्सिङ संघको वार्षिक साधारणसभा भएको छैन । यस्तो अवस्थामा संघले १४ जिल्लालाई कसरी मान्यता दियो यतिबेला चर्चाको विषय बनेको छ । यो बारेमा महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सजखु लगायतका पदाधिकारीलाई समेत जानकारी नभएको बुझिएको छ । बुझिएअनुसार आफु पुनः अध्यक्ष बन्न राम अवालेले यस्तो चलखेल गरेका हुन् ।

प्राप्त जानकारीअनुसार महासचिव भट्टाचार्यले बोलाएको कार्यसमितिको बैैठकमा अनुपस्थित रहेका बक्सिङ संघका अध्यक्ष राम अवालेले पछि त्यही मितिलाई आधार बनाएर १४ जिल्ला गठन गरेको खुलासा भएको छ । अवालेले कार्यसमितिका सदस्यहरुको घर–घरमा गएर पछि हस्ताक्षर गराएको बताइन्छ । अवालेले यसरी अवैधानिक र गैरकानुनी तरवले घरघरमा गएर हस्ताक्षर गराएपछि उनकै कार्यसमितिका पदाधिकारीले उनको नियतमाथि शंका गर्दै यस्तो नगर्न चेतवानी समेत बुझिएको छ । यसरी संघले १४ जिल्लालाई मान्यता दिए पनि अनुमोदन गर्नचाहिँ बाँकी नै रहेको छ ।

०६८ सालमा तत्कालिन बक्सिङ संघका अध्यक्ष रविराज थापाले संघको निर्वाचन हुन केही महिनाअघि १९ जिल्ला थपेर ल्याएकोमा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले सधारणसभाले अनुमोदन नगरि भोटिङ राइट दिन नमिल्ने भनेपछि विवाद उत्पन्न भएको थियो । त्यसपछि ती थप गरिएका जिल्लाका प्रतिनिधिहरुले भोट दिन पाएनन् । उनीहरुले घर फर्कदा निकै खल्लो अनुभव गर्नु प¥यो ।

अवाले अध्यक्ष रहेको नेपाल बक्सिङ संघको कार्यसमितिको कार्यकाल गत जेठ २१ गते सकिसकेको छ । वर्तमान विधानअनुसार ४ वटा क्षेत्र र २६ जिल्लाले मात्र निर्वाचनमा सहभागिताको लागि मान्यता पाएको अवस्था छ । सोहीअनुरुप पछिल्लो समय निर्वाचन हुँदै आएको छ । यस्तो अवस्थामा पछिल्लो पटक थप गरिएका १४ जिल्लालाई कार्यसमितिले मान्यता दिए पनि साधारणसभाले अनुमोदन भने गरेको छैन । यस्तो अवस्थामा ०६८ सालको घटना दोहोरिने प्रवल सम्भावना छ । यदि यस्तो भयो भने बक्सिङले पुन विवादको सामना गर्नुपर्ने पक्का छ ।

यतिबेलासम्म बक्सिङ संघको निर्वाचनको मिति तोकिएको छैन । कहिले मिति तोक्छ, त्यसको पनि अत्तोपत्तो छैन । तर अवालेले भने आफु पुनः अध्यक्ष बन्न अहिलेदेखि नै जाल बुनिसकेका छन् । बक्सिङको विकास र विस्तार भन्दा चाकरी र चाप्लुसीमै चार वर्ष विताएका अवालेको आगामी निर्वाचनमा अग्नि परीक्षा हुने पक्का छ । वर्तमान अवस्थामा उनको चारवर्षे अवधिको विश्लेषण गर्दा नाक खुम्च्याउने अवस्था मात्र छ । यस्तोमा आगामी निर्वाचनमा अवालेको कार्यको भन्दा गायकको रुपमा चर्चा नहोला भन्न सकिँदैन ।