माओवादी सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी प्रदान गर्न राष्ट्रपतिसमक्ष सरकारले गरेको सिफारिस प्रकरण यतिबेला मुलुकको राजनीति तरङ्गित तुल्याउने प्रमुख मुद्दा बनेको छ । घटनाको प्रकृति र अदालती अनुसन्धानले समेत विशुद्ध आपराधिक ठहराएको व्यक्तिहत्याको घटनालाई राजनीतिक कलेवर दिएर उम्कन माओवादी पक्ष जसरी प्रयत्नशील छ, यसबाट १३ वर्षअघि गरिएको उज्जनकुमार श्रेष्ठको हत्या-अपराधसँग जोडिएका पात्रहरू र सिङ्गो माओवादी पार्टीसमेत कुन हदसम्म आतङ्कित रहेछ भन्ने अन्दाज लगाउन कठिन पर्दैन ।
द्वन्द्वको समयमा मुलुकमा थुप्रै नागरिकको ज्यान गएको छ, राज्य र विद्रोही दुवै पक्षबाट अनेक घटना घटाइएका छन्, आफन्त गुमाएका प्रत्येक परिवार पक्कै पनि आँसुमा डुबेका छन् र त्यो पीडा पछिसम्म आलो नै रहन पनि सक्छ । यस हिसाबमा ज्यान गुमाउने प्रत्येक व्यक्तिका घटना-प्रकरण यतिबेला उज्जनकुमार या अर्जुन लामाको झैँ किन सतहमा ल्याइएन भन्ने जिज्ञासा पनि एकतप्कामा उठेको छ, जो अस्वाभाविक छैन । तर, अदालतले अपराधी सावित गरिसकेका बालकृष्ण ढुङ्गेल एवम् माओवादी पार्टीले दाबी गरेझैँ यो घटना राजनीतिक नभएर व्यक्तिगत रिसइवीबाटै प्रेरित रहेको देखिएबाट यस प्रकरणले निम्त्याएको तरङ्गको दायरा बढ्न पुगेको स्पष्टै छ । व्यक्तिगत रिस साध्न अत्यन्त अमानवीय र क्रूरताका साथ उज्जनकुमारको हत्या गरिएको र उक्त अपराधको मुद्दा अदालतमा लैजान लागेकै कारण उनका दाजु गणेशको पनि हत्या गरिनु र त्यो हत्याका कारण परिवारका अर्को सदस्य अर्थात् गणेशकी किशोरी छोरीले आत्महत्याको बाटो अवलम्बन गरेपछिको व्यथा-कथा भोग्नेलाई मात्र होइन सुन्नेहरूलाई पनि द्रवित तुल्याउन काफी छ । यस्तो परिवेशमा अपराधीले सजाय भोगेको हेरेर मन बुझाउन चाहने पीडित परिवार उल्टै राज्य नै अपराधीलाई उन्मुक्ति प्रदान गर्न उद्यत् बनेको देख्दा थप पीडाले विक्षिप्त बन्नु अस्वाभाविक हुँदैन ।
यसरी पीडामाथि पीडा व्यहोर्दै असैह्य अवस्थामा आत्मदाहसम्मको मार्ग अपनाउन तत्पर पीडित परिवारजनको पीडा र न्यायको आग्रहलाई राज्य सञ्चालनको जिम्मेवारीसमेत उठाइरहेको एकीकृत नेकपा माओवादीको नेतृत्व फगत धम्की ठानेर हावामा उडाउन खोजिरहेछ । अरू त अरू जनताको मर्मसँग तुलनात्मक रूपमा बढ्ता सामीप्यता राख्ने व्यक्तिका रूपमा प्रशंसित इमानदार र बौद्धिक छवि बोकेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेत आमसोचविपरीत उज्जन हत्या प्रकरणलाई राजनीतिक भएको हठ गर्दै बालकृष्ण ढुङ्गेललाई आममाफी दिन गरिएको सिफारिस फिर्ता हुन नसक्ने हठ प्रदर्शनमा लिप्त देखिनु विषदार्श्चर्यपूर्ण छ । सर्वोच्च अदालतको निर्णय कार्यान्वयनको पक्षमा आवाज उठाउने नागरिक समाज तथा मानवाधिकारवादीहरूतर्फ लक्षित डा. भट्टराईका शब्दवाण पनि अनपेक्षित र सबैलाई बिझाउने प्रकृतिको रहनु अर्को दु:खद् पक्ष हो । यसले डा. बाबुरामका प्रशंसकहरूलाई समेत निराश तुल्याउनु स्वाभाविक छ । देशको प्रधानमन्त्रीका हैसियतले पनि पार्टीका क्याडरको पक्षमा यसरी प्रस्तुत हुनु डा. भट्टराईका लागि शोभनीय छैन । बाबुरामको छविमा यो एउटा धक्का हो, धब्बा नै हो ।
कथित जनयुद्ध र रगतैरगतको आहाल टेकेर सत्तासम्म आइपुगेको माओवादीका लागि यो विषय सामान्य होला । र, आमप्रकरण ठानेर नै संवेदनाहीन ढङ्गबाट पन्छाउन खोजिएको हुनसक्छ । तर, अन्य कसैका लागि पनि यो मुद्दा माओवादी नेतृत्वको सोचअनुरूपको हुन सक्दैन । बाबुरामजस्ता उच्च प्राज्ञिक तथा बौद्धिक व्यक्तिले यो आत्मसात् गर्न नसक्नु मुलुककै विडम्बना हो ।
ढुङ्गेललाई आममाफीको सिफारिस प्रकरणले जारी शान्तिप्रक्रियालाई नै अवरुद्ध तुल्याउन सक्ने धम्कीसमेत माओवादी पक्षबाट दिइएको छ । सरकारको नेतृत्व गरिरहेको र मुलुककै ठूलो दल नै यसरी विधिको शासनविरुद्ध दण्डहीनतालाई मलजल गर्दै मुलुकलाई अराजकतातर्फ धकेल्न उद्यत् बनेको घटनाले यतिबेला सचेत तप्कालाई संवेदनशील तुल्याएको छ । प्रचण्ड, बाबुराम तथा माओवादी दलका लागि अपराधी सावित भइसकेका सभासद् बालकृष्ण ढुङ्गेल आवश्यक पात्र होलान् तर मुलुक र जनताको आवश्यकता त विधिको शासन, शान्तिसुरक्षा र समृद्धि नै हो, प्रधानमन्त्री बाबुरामलाई यो चेत रहोस् ।
प्रतिक्रिया