नेपालमा कोरोना संक्रमित १७ हजार ४ सय ४५, मृतक संख्या ४०

नेपालमा कोरोना संक्रमित १७ हजार ४ सय ४५, मृतक संख्या ४०


नेपालमा शुक्रबार (२ साउन) थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएको पनि बताए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको कुल संख्या ११ हजार ५ सय ३४ पुगेको छ भने हाल देशभर ५ हजार ८ सय ७१ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन्।

यसै क्रममा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षका एक वृद्ध पुरुषको मृत्यु भएको हो। गत असार ३१ गते बेलुकी खोकी, ज्वरो तथा स्वास प्रश्वास लगायतका स्वास्थ्य समस्या देखिएपछि उनी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना भएका थिए।

उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखिएकोमा बिहीबार राति उपचारका क्रममा उनको मृत्यु भएको हो। नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अब ४० पुगेको छ।