मास्कको अनिवार्य प्रयोग गर्न प्रहरीको आग्रह

मास्कको अनिवार्य प्रयोग गर्न प्रहरीको आग्रह


  • सनत आचार्य,तुलसीपुर, (दाङ)

प्रहरीले दाङको तुलसीपुर बजारमा मास्क नलगाउने जो–कोहीलाई नियन्त्रणमा लिई होल्डमा राख्ने गरेको छ ।

दाङको पश्चिम क्षेत्रमा कोरोना फैलन नदिन र गुहमन्त्रालयले जारी गरेको निर्देशनको पूर्ण परिपालनाका लागि तुलसीपुर उपमहानगरपालिकाको पहलमा आयोजना भएको सर्वदलीय बैठकमा मास्क नलगाई सडकमा हिँड्ने जो–कोहीलाई नियन्त्रणमा लिई होल्डमा राख्ने निर्णय भएअनुसार प्रहरीले यस्तो कदम चालेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन् ।

उहाँले मास्कको प्रयोग नगर्ने बटुवाहरूलाई नियन्त्रणमा लिई करिव एक घण्टा होल्डमा राख्ने र सोही समयमा अहिलेको अवस्थामा मास्क प्रयोग गर्न किन आवश्यक छ भनेर सचेतनात्मक जानकारी दिने गरेको र मास्क नलागउनेहरू प्रहरीकै पहलमा निःशुल्क मास्क समेत दिने गरिएको डिएसपी सिंहले घटना र विचारलाई जानकारी गराए ।

डिएसपी सिंहका अनुसार प्रहरीले मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्न साउन १ देखि नगरक्षेत्रभित्र माइकिङ समेत गरेको र यस कामका लागि बिहीबारकै दिनदेखि तुलसीपुर नगरक्षेत्रमा दुई जना प्रहरी निरीक्षकको कमाण्डमा २२ जना प्रहरीसमेत खटाईएको जानकारी दिनुभयो ।

उहाँले शहर वा गाउँ सबै क्षेत्रमा हिँडडुल गर्दा मास्कको अनिवार्य रूपमा प्रयोग गर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।

प्रहरीले नगरक्षेत्रभित्र गरेका यस प्रकारका गतिविधिहरूलाई स्थानीयले सामाजिक संजालमा बधाई दिँदै सकारात्मक कदम, स्वागतयोग्य काम, सह्राननीय काम भनि टिप्पणी गरेका छन् ।