सडक अतिक्रमण हटाउने कार्य शुरु

सडक अतिक्रमण हटाउने कार्य शुरु


नारद कोहार, कपिलवस्तु

जिल्लाको सदरमुकाम तौलिहवामा हुलाकी सडक आयोजनाअन्तर्गत जमुहारदेखि छोटकी तौलिहवा मस्जिदसम्म सडक क्षेत्रभित्र पर्ने अतिक्रमण हटाउन शुरु गरिएको छ ।

सरकारी कार्यालयहरु जिल्ला समन्वय समितिको पर्खाल, नेपाल बाल संगठनको पर्खाल, तौलेश्वरनाथ संस्कृत माबिको पर्खाल, सरकारी वकिल कार्यालय अगाडिको प्रतीक्षालय, सनसाइन बोर्डिङ स्कुलका पर्खालहरु डोजर लगाएर भत्काइएको छ । यस्तै, खानेपानी कार्यालयसहित दुई वटा विद्यालयका पर्खाहरु डोजर लगाएर केही भाग भत्काइएको हो ।

‘हुलाकी राजमार्ग योजना कार्यालयअन्तर्गत तौलिहवाको जमुहार नालादेखि छोटकी तौलिहवासम्म पर्ने अतिक्रमण हटाउनका लागि विगतदेखि पटक–पटक हामीले म्यादहरु जारी गऱ्यौँ, ती हिजो (शुक्रबार) अन्तिम म्याद सकिएलगत्तै आज (३ साउन)बाट तत्काल हामीले सडक विस्तार गर्ने शिलशिलामा सडक अतिक्रमण हटाउन सुरु गरेका हौँ’, हुलाकी सडक अयोजना कपिलवस्तुका प्रमुख ईश्वर बहादुर रिजालले बताए ।

सडक अतिक्रमण हटाउन हुलाकी सडकका कर्मचारी, नेपाल र सशस्त्र प्रहरीसहितको टोलीले दुई वटा डोजर प्रयोग गरी अतिक्रमण खाली गराइएका हुन् । गत असार २५ गते प्रशासन कार्यालयमा सर्वपक्षीय निर्णय भएपछि बाटो निर्माणमा तीव्रता दिनका लागि सडक अतिक्रमण खाली गराउने निर्णय भएको थियो ।

२३ सय ४० मिटरभित्र २ सय ७३ वटा संरचना रहेका छन् । यस्तै, कपिलस्तु नगरपालिकाले जनाएअनुसार जमुवारदेखि भिक्षुसम्म ५ सय ८३ संरचना भत्काउनुपर्ने देखिन्छ । बहादुरगन्ज जाने बाटोदेखि भिक्षु चौकसम्म सडक विभागले सडक स्तरोन्नती गर्ने जनाएको छ ।

उता स्थानीय कालीपद शर्मा र रोहित उपाध्यायले उच्च अदालत तुलसीपुरमा सो कार्य रोक्नका लागि रिट निवेदन दिएका छन् । सोही आधारमा बुटवल इजलासले निवेदकका हकमा अल्पकालीन आन्तरिम आदेश जारी गर्दै विपक्षी हुलाकी सडक आयोजना र सडक विभागलाई साउन १२ गते छलफलका लागि अदालतमा बोलाईएको छ ।

हुलाकी सडक अयोजना कपिलवस्तुका प्रमुख ईश्वर बहादुर रिजालले भने आफूकहाँ अदालतको तामेली नआएको बताए । उनले अदालतको आदेश हामीले मान्नैपर्ने हुन्छ भन्दै त्यसैमा बसेर हामीले छलफल गर्ने बताए ।