सभापतिमा दोहोरिँदै देउवा

सभापतिमा दोहोरिँदै देउवा


कोरोना सङ्क्रमणको स्थिति र ‘लक्ड डाउन’ कहिलेसम्म कायम रहन्छ भन्ने निश्चित नभए पनि ‘वामपन्थी नेपाली काङ्ग्रेस’ पार्टीले आगामी फागुनमा पार्टीको महाधिवेशन गराउने कार्ययोजना बनाएको छ । काङ्ग्रेसको महाधिवेशन वैचारिक, सैद्धान्तिक, राजनीतिक र साङ्गठनिक दृष्टिले महत्वपूर्ण नहुने भए पनि नेतृत्वका निम्ति हुने रमाइलो चुनावी प्रतिष्पर्धाका कारण यसले आममानिसको समेत ध्यानाकर्षण गर्ने गरेको छ । बीपी कोइरालाद्वारा स्थापित तथा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहद्वारा प्रतिपादित विचार–दर्शन २०६२ सालमा परित्याग गरेपछि काङ्ग्रेस मध्यमार्ग छोडेर वामपन्थी भूमिकामा देखापर्दै आएको छ ।

विगत डेढ दशकअघिदेखि वामपन्थी भूमिका निर्वाह गर्दै गरेको काङ्ग्रेसले आगामी महाधिवेशनमा पनि विचार बदल्ने सङ्केतहरू देखिएका छैनन् । त्यसैले सभापति पदमा कसले बाजी मार्न सक्ला भन्ने विषयमा मात्र आमचासो बनेको छ ।

प्राप्त जानकारीअनुसार शेरबहादुर देउवा अर्को एक कार्यकालका निम्ति सभापति बन्न चाहनुहुन्छ भने यसअघि देउवाबाट पराजित रामचन्द्र पौडेल पनि अर्को एकपटक देउवासँग सभापति पदमा प्रतिस्पर्धा गर्न चाहनुहुन्छ । अब नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्नेहरूले डा. शेखर कोइरालालाई सभापतिका निम्ति अगाडि सारेका छन् । र, कोइरालाले केही वर्ष अघिदेखि नै सभापतिमा उम्मेदवार बन्ने र विजयी हुने कसरत गर्दै आउनुभएको छ । त्यस्तै, महामन्त्री डा. शशाङ्क कोइराला पनि सभापति बन्ने दाउ हेर्दै हुनुहुन्छ । यसअघिको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुभएका कृष्णप्रसाद सिटौलाचाहिँ यसपटक ‘स्पेस’ खोज्दै हुनुहुन्छ । देउवा पक्षले आफ्नो टिममा राखेर महामन्त्री या उपभासपतिमा उम्मेदवार बनाएमा सिटौला त्यसैमा खुशी हुने अनुमान काङ्ग्रेसभित्र गर्न थालिएको छ ।

सभापति पदमा दाबी गर्न मिल्ने योग्यता र हैसियत भएर पनि डा. रामशरण महत र प्रकाशमान सिंहले सभापति बन्ने प्रतिष्पर्धामा आफूलाई अगाडि सार्नुभएको छैन । बरु जनकपुरकेन्द्रित राजनीतिमा रमाउँदै आएका विमलेन्द्र निधि देउवाको समर्थन लिएर आफैं सभापतिको उम्मेदवार बन्ने सपना बुन्दै रहेको महसुस काङ्ग्रेसभित्र गरिएको छ । आरजु राणालाई उपसभापति बनाउने गरी आफू सभापतिको उम्मेदवार बन्ने चाहना निधिको भएको बताइन्छ । भ्रष्टाचारको आरोपमा संसद्बाट निलम्वित विजयकुमार गच्छदार महाधिवेशनमा कस्तो भूमिकामा देखापर्नुहुने हो सो यकिन हुन सकेको छैन । महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेता अर्जुननरसिंह केसी, बालकृष्ण खाण र प्रवक्ता विश्वप्रकाश शर्मा पनि उपसभापति र महामन्त्री जस्ता पदीय जिम्मेवारीका लागि तयार हुने निश्चित छ । यसअघिको महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेर शर्मनाक पराजय ब्यहोरेको भए पनि गगन थापासमेत पुनः महामन्त्रीमा उम्मेदवार बन्ने तयारीमा रहेको बुझिन्छ ।

काङ्ग्रेस एजेण्डा र विचारविहीन भए पनि आगामी महाधिवेशनमा केही नेताहरू हिन्दुराष्ट्रको एजेण्डा देखाएर विजयी बन्ने सपना देख्दैछन् । काङ्ग्रेसमा हिन्दुराष्ट्रको एजेण्डा हृदयदेखि नै ग्रहण गरेका नेताहरूमा कुलबहादुर गुरुङ, तारानाथ रानाभाट, लक्ष्मणप्रसाद घिमिरे, विपिन कोइराला, शङ्कर भण्डारी र लोकेश ढकालको नाम लिइन्छ । उहाँहरू कसैले पनि अहिले उपसभापति या महामन्त्रीमा उम्मेद्वार बन्ने तत्परता देखाउनुभएको छैन । तर परिस्थिति नै फरक देखियो भने विपिन कोइराला या शङ्कर भण्डारीले हिन्दुराष्ट्र स्थापनालाई मूख्य एजेण्डा बनाएर महत्वपूर्ण पदीय जिम्मेवारीका निम्ति उम्मेदवारी दिने प्रवल सम्भावना छ ।

सभापति पदमा शेरबहादुर देउवा पुनः उम्मेदवार बन्ने निश्चितप्रायः भए पनि अर्को पक्षबाट को उम्मेदवार बन्ने भन्ने यकिन भइसकेको छैन । तर देउवालाई टक्कर दिन सक्ने हैसियत र सक्रियता डा. शेखर कोइरालामा देखिएको महसुस काङ्ग्रेसका आमकार्यकर्ताहरूले गरेका छन् । कोइराला पक्ष एक भएर प्रतिष्पर्धा गरेको अवस्थामा डा. शशाङ्क कोइराला या प्रकाशमान सिंहले पनि देउवालाई परास्त गर्न सक्ने विश्वास गरिन्छ । कोइराला पक्ष एकजुट भएमा डा. रामशरण महत पनि देउवालाई पराजित गर्न सफल हुने बताइन्छ । तर डा. महत, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह आदिले आगामी महाधिवेशनमा सभापति बन्ने आकाङ्क्षा अहिलेसम्म प्रकट गर्नुभएको छैन । त्यसैले अन्ततः शेरबहादुर देउवा र शेखर कोइरालाबीच नै मूख्य टक्कर हुने सम्भावना प्रवल छ ।

शेरबहादुर देउवा पक्ष

गोपालमान श्रेष्ठ
पूर्णबहादुर खड्का
विजयकुमार गच्छदार
विमलेन्द्र निधि
फर्मूल्लाह मन्सुर
आनन्द ढुङ्गाना
डा. प्रकाशशरण महत
बालकृष्ण खाण
ज्ञानेन्द्रबहादुर कार्की
मीन विश्वकर्मा
विश्वप्रकाश शर्मा
एनपी साउद
मानबहादुर विश्वकर्मा
अम्बिका बस्नेत
शङ्कर भण्डारी
रमेश लेखक
भीष्म आङ्दम्वे
देवेन्द्रराज कँडेल
पुष्पा भुसाल
ध्यानगोविन्द रञ्जित
केशवकुमार बुढाथोकी
वीरबहादुर बलायर
चित्रलेखा यादव
ईश्वरी न्यौपाने
शीला खड्का
मोहन बस्नेत
पार्वती डिसी
अमृत अर्याल
किशोरसिंह राठौर
श्याम घिमिरे

डा. शेखर कोइराला पक्ष

डा. चन्द्र भण्डारी
डा. अमरेशकुमार सिंह
गगन थापा
प्रदीप पौडेल

रामचन्द्र पौडेल पक्ष

डा. रामशरण महत
डा. नारायण खड्का
प्रकाशमान सिंह
महेश आचार्य
हृदयराम थानी
अर्जुननरसिंह केसी
धनराज गुरुङ
नवीन्द्र राज जोशी
कमला पन्त
जीवन परियार

डा. शशाङ्क कोइराला पक्ष

दिलेन्द्रप्रसाद बडु
दिलबहादुर घर्ती
पद्मनारायण चौधरी
गुरुराज घिमिरे
दीपक गिरी

कृष्ण सिटौला पक्ष

भीमसेनदास प्रधान
उपमाकान्त चौधरी
तारामान गुरुङ
शिव हुमागाईं