निःशुल्क सीप हस्तान्तरण गर्दै कर सहयोगी श्रमिक संगठन

निःशुल्क सीप हस्तान्तरण गर्दै कर सहयोगी श्रमिक संगठन


आय तथा व्ययलाई व्यवस्थित गर्न कर सहयोगी श्रमिक संगठनले आवश्यक सीप हस्तान्तरण गरिरहेको छ । Nas for MEs, Tax assessment र Excel Trick जस्ता आय तथा व्यय हिसाबकिताब राख्न प्रयोग गरिने प्रविधिको ज्ञान दिन युवाहरुलाई चारदिने निःशुल्क तालिम राजधानीमा दिइएको छ । संगठनको ‘समृद्ध राष्ट्र निर्माणको निम्ति करदातामैत्री राजश्व वृद्धिको अभियान, सम्मानित पेशाको निम्ति कर सहयोगीको अधिकार पहिचान’ नारासहित २६ जना युवालाई सीप हस्तान्तरण गरिएको संगठनका प्रथम उपाध्यक्ष पशुपति त्रिपाठीले घटना र विचारलाई बताए ।

संगठनले कर अध्यायदेश, लेखा व्यवस्थापन, कम्प्युटर सफ्टवेयरजस्ता तालिम निःशुल्क दिँदै आएको छ । २०६२ मा स्थापना भएको यो संस्थामा करिव ८ जना सदस्य र २२ जिल्लामा समिति रहेका छन् । वर्षमा तीन वटाका दरले १८ वर्षमा ५४ वटा तालिम पूरा गरेको छ भने यसबाट करिव ८ हजार युवाले लेखा व्यवस्थापनसम्बन्धी सीप प्राप्त गरेको संगठनका केन्द्रीय सदस्य तथा शनिबार सम्पन्न भएको तालिमका संयोजक अनिल राजभण्डारीले जानकारी दिए ।

करसम्बन्धी मासिक विवरण, अनुमानित आय विवरण, वार्षिक कर बुझाउने, दर्ता, नवीकरण, प्यान दर्ता, घरकर तिरिदिने जस्ता सेवा पनि प्रदान गर्दै आएको छ । साना व्यवसायीलाई लेखापाल नै राखेर आर्थिक हिसाबकिताब सञ्चालन गर्न समस्या हुने भएकोले संगठनले आवश्यक सबै आर्थिक क्रियाकलापमा सहयोग गर्दै आएको वरिष्ठ उपाध्यक्ष त्रिपाठीले जानकारी दिए ।

२२ जिल्लामा रहेका समितिले पनि वर्षमा न्यूनतम एक/एक वटा तालिम सञ्चालन गर्दै आएका छन् । जिल्लातहमा पनि करिव हजार जनाबढीले लेखा व्यवस्थापनको सीप प्राप्त गरेको संगठन जनाउँछ ।