छोड अब ‘दाइ’को गुट, युवाहरू बन एकजुट !

छोड अब ‘दाइ’को गुट, युवाहरू बन एकजुट !


■ रमेश बस्ताकोटी

नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन यही सालको फागुनमा गर्ने गरी कार्यतालिका सार्वजनिक भएको छ । महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणलगायतका कार्यक्रम सुरु पनि भइसकेका छन् । यो सन्दर्भमा यतिबेला पुनः एकपटक सबैको ध्यान नेपाली काङ्ग्रेसको महाधिवेशनतिर तानिन सुरु भइसकेको छ ।

नेपाली काङ्ग्रेस मुलुककै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । काङ्ग्रेसले महाधिवेशनमार्फत् लिने नीति तथा कार्यक्रमले समग्र नेपाली जनता र मुलुकको भविष्य निर्धारण गर्दछ । त्यसकारण पनि काङ्ग्रेसको महाधिवेशनप्रति आम चासो हुनु स्वभाविक हो । काङ्ग्रेसको १४औं महाधिवेशन नीति तथा कार्यक्रमका हिसाबले त महत्वपूर्ण छँदैछ, त्योभन्दा महत्वपूर्ण अर्को पक्ष भनेको भावी नेतृत्वको हो ।

बीपी कोइरालाले युवा अवस्थामानै नेपाली काङ्ग्रेस पार्टीको स्थापना गरेका थिए । बिपी कोइराला ३५ वर्षको उमेरमा पार्टी सभापति बनेका थिए र ४३ वर्षको उमेरमा देशको प्रधानमन्त्री नै बनेका थिए । मदन भण्डारी ४१ वर्षको उमेरमा नेकपा एमालेको महासचिव बनेका थिए । बेलायतका प्रधानमन्त्री डेबिड क्यामरुन ४१ वर्षकै उमेरमा प्रधानमन्त्री बनेका हुन् । बाराक ओबामा अमेरिकाको सबैभन्दा कान्छो उमेरमा राष्ट्रपति बनेका व्यक्ति हुन् । यसको मतलव नेपाली काङ्ग्रेस पार्टीलाई अहिलेसम्म युवाहरूले नेतृत्व नै गरेनन् भन्ने होइन । नेपाली काङ्ग्रेस पार्टी स्थापना हुँदा यसका संस्थापकहरू सबै जुझारु युवा थिए । नेपाली जनताको स्वतन्त्रताका लागि युवा अवस्थामा नै यसका संस्थापकहरूले काङ्ग्रेस पार्टीको स्थापना गरेका थिए ।

चौधौं महाधिवेशनको रौनक सुरु भएसँगै काङ्ग्रेसभित्र फेरि एकपटक युवा नेतृत्वको विषयले प्रवेश पाएको छ । अहिलेका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा ७४ वर्षका भए । वरिष्ठ नेता रामचन्द्र पौडेल ७५ वर्षका भए । महामन्त्री डा. शशांक कोइराला ६१ वर्षका भए भने नेता कृष्णप्रसाद सिटौला ७१ वर्ष पुगिसके । यसको मतलब काङ्ग्रेसको नेतृत्व तहमा रहेका सबैजसो नेताहरू ६० कटिसकेका छन् । यो भन्नुको अर्थ नेपाली काङ्ग्रेस पार्टीलाई विगत लामो समयदेखि ६० कटेको पुस्ताले नेतृत्व गरिरहेको छ । यसो भन्दै गर्दा उहाँहरूको योगदानलाई नजरअन्दाज गर्न खोजिएको हैन । नेपाली काङ्ग्रेस निर्माणमा उहाँहरूको अतुलनीय भूमिका छ । पटक–पटक जेल–नेल भोगेका नेताहरू हुनुहुन्छ । प्रजातन्त्रका लागि लामो समय लडेका अत्यन्तै आदरणीय नेताहरू हुनुहुन्छ । तर यसको मतलब यो पनि होइन कि आराम गरेर एउटा अभिभावकको भूमिकामा बस्ने बेलामा नेतृत्व छाड्दै नछाडी बस्नुपर्छ भन्ने ।

नेपाली काङ्ग्रेसको वर्तमान नेतृत्वले स्पष्ट रूपमा न कुनै कार्यक्रम दिन सकेको छ, न त कुनै कार्यदिशा नै छ । कम्युनिष्टहरूको लहलहैमा लागेर यही नेतृत्वले पार्टीको आकार कहाँ पुऱ्यायो यहाँ भनिरहनु नपर्ला ।

यसो भनिरहँदा कतिपयले भन्लान् युवा उमेरले हुने कुरा होइन विचारले हुने कुरा हो । यो तर्क पनि आउँछ । पङ्क्तिकार पनि यो कुरासँग असहमति राख्दैन । अर्थात्, युवा जोश र जाँगरले भरिपुर्ण विचार ६० कटेका नेताले राख्न सक्दैनन् भन्ने होइन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदाहरण हेरौँ, उनी आफूभन्दा कयौँ सिनियर नेताहरूलाई पछाडि छाडेर आज यो स्थानमा आइपुगेका हुन् । उनकै विचारका कारण, उनकै नीतिका कारण अहिले दोस्रो कार्यकाल पनि भाजपाले एकछत्र शासन चलाइरहेको छ । यसको मतलब मान्छे बुढो हुँदैमा विचार र नीति पनि पुराना हुन्छन् भन्ने होइन । तर हाम्रो देशको हकमा अझै नेपाली काङ्ग्रेस पार्टीभित्र त्यो अवस्था छ त ? सबैले एकपटक गम्भीर भएर सोचौँ ।

नेपाली काङ्ग्रेसको वर्तमान नेतृत्वले स्पष्ट रूपमा न कुनै कार्यक्रम दिन सकेको छ, न त कुनै कार्यदिशा नै छ । कम्युनिष्टहरूको लहलहैमा लागेर यही नेतृत्वले पार्टीको आकार कहाँ पुऱ्यायो यहाँ भनिरहनु नपर्ला । त्यसकारण अब शेरबहादुर, रामचन्द्र, सिटौलालगायतको पुस्ताले विश्राम लिनुपर्छ । पार्टीमा अब युवा नेतृत्व स्थापित हुन आवश्यक छ । वरिष्ठहरूले आफ्नो अनुभवहरू नयाँ पुस्तालाई प्रदान गरेर अझै पार्टीलाई योगदान दिन भने सक्ने नै छन् । उहाँहरूले गर्नुपर्ने पनि त्यही नै हो ।

काङ्ग्रेसभित्र कयौँ सक्षम र आशलाग्दा युवाहरू नेतृत्वमा आउन सक्ने ल्याकत राख्ने खालका छन् । के सबै उनीहरूलाई ६० कटेको पुस्ताको पछि लगाएर उनीहरूको सिर्जनशीलतालाई मारिरहने हो ? अब प्रश्न यहाँनेर गम्भीर रूपले उठेको छ । अहिले पनि नेपाली काङ्ग्रेसमा विश्वप्रकाश शर्मा, डा. चन्द्र भण्डारी, बालकृष्ण खाँड, धनराज गुरुङ, गगन थापा, गुरु घिमिरे, बद्री पाण्डे, प्रदीप पौडेल, महेन्द्र शर्मा जस्ता अत्यन्तै आशलाग्दा युवाहरू छन्, जसले यो पार्टी र देशका लागि आफ्ना विचारद्वारा परिवर्तन ल्याउन सक्छन् भन्ने कुरा कम्युनिष्टहरू समेत स्विकार गर्छन् । माथि नाम उल्लेख गरिएका भन्दा पनि धेरै आशलाग्दा थप युवा नेताहरू काङ्ग्रेसमा छन् । सबैको नाम उल्लेख गरिरहन सम्भव भएन । यसको मतलव के हो भने काङ्ग्रेसलाई नेतृत्व गर्नका लागि युवाहरूको एउटा अत्यन्तै क्षमतावान समुह तयार भइसकेको छ । त्यसकारण अब युवालाई नेतृत्व हस्तान्तरण गर्न ढिला गर्नु हुँदैन । काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरूले अब यो विषयमा सोच्न आवश्यक छ । सधैं शेरबहादुर दाइ, रामचन्द्र दाइ, सिटौला दाइ, शशांक दाइ, फलानो दाइ र डिस्कानो दिदी भनेर पछि लाग्नुको साटो अब सोचविचार गरेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आवश्यक छ । यसका लागि काङ्ग्रेसको १४औँ महाधिवेशनमा तत्लो तहबाट नै व्यापक मात्रमा युवाहरू निर्वाचित भएर आउन जरुरी छ । देशभरि युवाको पक्षमा महोल बनाउन सकियो भने त्यो असम्भव पनि छैन ।

काङ्ग्रेसका युवाहरूले हिम्मत गरुन् अब ‘दाइ’को गुट छाडेर युवाहरू एकजुट हुन आवश्यक छ । दाइको गुटमा बसिरहने हो भने पालो आउँदैन, भाइहरूको गुट बनाएर एकजुट हुने हो भने यसपटक नभए पनि फेरि अर्को पटक पालो अवश्य आउँछ ।

अब यहाँनेर फेरि अर्को कुरा आउला– युवा भनेका नेताहरू नै तिनै ‘दाइ’हरूको चाकडी गर्छन् र पिछलग्गु छन् । अनि युवा नेतृत्वको बहस गर्नुको के अर्थ ?! युवा भनिएका नेताहरू नै केन्द्रीय सदस्य जित्नका लागि ‘दाइ’हरूकै आशीर्वाद नपाइ सम्भव छैन भने युवा नेतृत्वको बहसको के अर्थ ? यो कुरामा सत्यता पनि छ । हो, अहिले युवा भनेका नेताहरू कुनै न कुनै ‘दाइ’को गुटमा सामेल छन् । उनीहरू ती गुटबाट बाहिर निस्केर समग्र युवाको हितमा बोल्ने आँट गर्लान् ? नेतृत्वमा हस्तक्षेप गर्ने आँट गर्लान् ? यसको जवाफ शङ्काकै घेराभित्र छ । तथापि, हामीले काङ्ग्रेसभित्र युवा नेतृत्वको बहस चलाउँदै गर्दा समग्र पार्टीको परिवेशलाई नबुझी चलाएका होइनौँ । घेराबाट निस्केर आउन गाह्रो अवश्य होला तर इच्छाशक्ति भयो भने असम्भव पनि छैन ।

त्यसकारण काङ्ग्रेसका युवा नेताहरू अब एक ठाउँमा उभिन आवश्यक छ । नेतृत्वमा जबर्जस्त हस्तक्षेप गर्ने हो भने युवाहरू एक ठाउँमा उभिनुको विकल्प नै छैन । यदि एक ठाउँमा उभिएर देशभरि युवा नेतृत्वको पक्षमा महोल नबनाउने हो भने फेरि पनि दाइहरूकै ‘ज्यू–हजुरी’ गर्ने हो अनि नेतृत्वमा पुग्नका लागि ७० वर्ष पुग्ने दिन कुरेर बस्ने मात्र हो । त्यसकारण १४औं महाधिवेशन युवा नेताहरूको लागि परिक्षाको घडी पनि हो । यो परीक्षामा खरो उत्रिएर एकपटक १४औँ महाधिवेशनमार्फत् युवा नेतृत्व स्थापनामा जोड दिऔँ । नेतृत्वमा को पुग्ला त्यसलाई महत्वपूर्ण विषय नठानौँ । मूल कुरा युवापुस्ता नेतृत्वमा पुग्नु हो । आज एउटा युवा पुग्यो भने भोलि अर्को युवा अवश्य पुग्छ । त्यसले गर्दा पार्टी चलायमान हुन्छ । विपक्षीसँग लड्न सजिलो हुन्छ । त्यसकारण सबै युवा नेताहरूले यसपटक यो या त्यो नभनी युवा नेतृत्व स्थापना अभियानमा सघाउन जरुरी छ ।

यसमा अहिलेको काङ्ग्रेस नेतृत्वले पनि सघाएर युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्न सके झनै सुनमा सुगन्ध हुनेछ । अब ६५–७० कटेका नेताहरू अभिभावकीय भुमिकामा नै बस्दा उत्तम हुन्छ । यो लेख लेख्दै गर्दा पङ्क्तिकारको कुनै नेतासँग आग्रह–दूराग्रह छैन, मात्र काङ्ग्रेसभित्र चलायमान युवा पुस्ता आउनुपर्छ भन्ने अभियानस्वरुप यी पङ्क्ति कोरिएका हुन् । त्यसकारण देशभरका युवा साथीहरूले अब काङ्ग्रेसभित्र युवाको नेतृत्वको अभियानलाई व्यापक बनाउन आवश्यक छ । समय अब आएको छ, यसपटक महाधिवेशनमार्फत् युवा नेतृत्व स्थापित भयो भने मात्र सही अर्थमा काङ्ग्रेसले देशको नेतृत्व गर्न सक्छ, अर्थात् काङ्ग्रेस फेरि एक पटक मुलुकको ठूलो पार्टी बनेर मुलुकको नेतृत्व गर्न सक्छ । यसका लागि यो पटक काङ्ग्रेसको मूल नेतृत्व तहमा युवाहरूलाई पुऱ्याउनै पर्दछ । काङ्ग्रेसका युवाहरूले हिम्मत गरुन् अब ‘दाइ’को गुट छाडेर युवाहरू एकजुट हुन आवश्यक छ । दाइको गुटमा बसिरहने हो भने पालो आउँदैन, भाइहरूको गुट बनाएर एकजुट हुने हो भने यसपटक नभए पनि फेरि अर्को पटक पालो अवश्य आउँछ ।