महामारीले बदलेको जीवनशैली

महामारीले बदलेको जीवनशैली


■ विष्णु नेपाली

कालो बादलको छेउ–छेउमा चाँदीको घेरा हुन्छ भनेझैँ हरेक विपत्ति सँगसँगै सकारात्मक परिवर्तन पनि भइरहेकै हुन्छन् । कोरोना भाइरसको महामारी जब विश्वभरी फैलिन थाल्यो, विश्वका थुप्रै देशहरूले यसबाट बच्ने उत्तम विकल्पका रूपमा लकडाउनलाई रोजे र आफ्ना नागरिकलाई सुरक्षित रहन घरभित्रै बस्न आह्वान गरे । लामो लकडाउन र लकडाउन खुलेपछि भाइरस फैलिने त्रासदीले मानिसहरूको जीवनमा कठिनाइ त थपेको छ सँगसँगै उनीहरूको जीवनशैलीमा पनि थुप्रै परिवर्तन ल्याएको छ । विशेषतः घरधन्दाको काममा पुरुष संलग्तना बढेको पाइन्छ ।

लैङ्गिक समानताको क्षेत्रमा काम गर्दै आएकी निर्मा चौधरीका अनुसार कार्यालयमा काम गर्ने कर्मचारी हुन् वा समान्य खेतीपाती गर्ने पुरुष हुन्, उनीहरूको घरधन्दाको काममा संलग्नता बढेको छ । उनका अनुसार, सर्लाही हरिपुर निवासी ३६ वर्षीय मुश्लिम समुदायका एक जना पुरुष सरकारी जागिरे हुन् । उनी महामारीभन्दा पहिले बिहान अबेरसम्म सुत्थे, सफासुग्घर भइ खाना खाएर कार्यालय जान्थे अनि कार्यालयबाट आइसकेपछि सामाजिक सञ्जालमा ब्यस्त हुन्थे र साझको खाना खाएर सुत्थे । घरधन्दाको काममा सिन्को नभाँच्ने उनी लकडाउनको बेलादेखि खाना पकाउने, भाँडा माझ्ने लुगा धुने र करेसाबारीको काम गर्न थाले । उनमा आएको यो परिवर्तनले उनकी श्रीमती र छिमेकीहरू आश्चर्यमा परेका छन् ।

त्यस्तै, वीरेन्द्रनगर सुर्खेत निवासी ३५ वर्षीय दलित समुदायका एक जना पुरुष सामाजिक संस्थामा कार्यरत कर्मचारी हुन् । घरमा हुँदा पनि राती अबेरसम्म ल्यापटपमै व्यस्त हुने र बिहान अबेरसम्म सुत्ने उनले घरको काममा वास्ता नै गर्दैनथे । तर, लकडाउनको समयमा उनले खाना पकाउन सिके र अहिले घरधन्दालगायत खेतीपातीको सम्पुर्ण काम गर्दछन् । अल्छी लाग्दा वा बिसन्चो हुँदासम्म पनि पालो नफेरिने गरेको हाल श्रीमान् पनि सँगसँगै भान्साको काममा लाग्दा उनकी श्रीमती असाध्यै खुशी छिन् र समान हैसियतको अनुभूति गरेकी छिन् । त्यसैगरी रोल्पा नगरपालिका वार्ड नं. ६ निवासी घर्ती परिवारका ३२ वर्र्षीय एकजना पुरुष खेतीकिसानी गर्दछन् । खेतबारीकै काममा व्यस्त हुने उनी फुर्सदको समयमा साथीभाइहरूसँग गफगाफ गर्ने, तास खेल्ने गर्दथे । खनजोतबाहेक अन्य घरयासी काम गर्दैनथे तर लकडाउनपछि खाना पकाउने, लुगा धुने, बस्तुभाउलाई घास काट्ने, गोबर सोत्तर गर्ने जस्ता काम गर्न थाले । यो महामारीले घरको काममा समानता ल्याएको र पारिवारिक सम्बन्ध सुदृढ भएको उनकी श्रीमती बताउँछिन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ६८ लाख २ हजार ८ सय ८२ जनाले घरधन्दा गर्दछन् । जसमध्ये ५६ लाख २३ हजार २ सय ८१ जना अर्थात् ८३ प्रतिशत महिला घरधन्दामा रहेको तथ्याङ्क रहेको छ । त्यस्तै, सरकारकै अर्को तथ्याङ्कअनुसार नेपालको कृषि क्षेत्रमा ८० प्रतिशत भन्दा बढि महिलाले श्रम गर्दछन् ।

पितृसत्तात्मक सोचमा आधारित सामाजिक मुल्य मान्यता तथा सदियौँदेखि चलिआएको महिलाप्रतिको भेदभावपूर्ण व्यवहार नेपाली यथार्थ हो । समाज विकासको क्रममा महिला र पुरुषको जिम्मेवारी तथा भूमिकालाई छुट्याइएको छ । आदर्श महिला कस्तो हुनु पर्दछ र आदर्श पुरुष कस्तो हुनु पर्दछ भनेर समाजले निर्दिष्ट गरेको छ । जुन भूमिका तथा जिम्मेवारीलाई विकासको भाषामा ‘महिला बाकस र पुरुष बाकस’ भनेर बुझिन्छ । महिला होस् चाहे पुरुष होस् त्यो बाकसभन्दा बाहिर निस्कन खोज्दा समाजले अनेकन लान्छना लगाउने, उपमा दिने, असहयोग गर्ने र घरपरिवार तथा समाजबाटै वहिष्कृत गर्ने गरिन्छ । फलस्वरुप विभेदकारी बाकस हो भन्ने बुझ्दाबुझ्दै पनि त्यो बाकसबाट बाहिर निस्कन धेरैले हिम्मत गर्दैनन् । जसले गर्दा विभेदकारी धारणा, विश्वास, व्यवहार, आस्था वा परिकल्पना भए पनि सामाजिक मुल्य मान्यता हो भनेर सहर्ष स्वीकार गरिन्छ ।

समाजमा कसले कसरी व्यवहार गर्ने भनेर पहिले नै आफ्नो संस्कृति र परम्पराअनुसार नियमहरू बनाइएको हन्छ र यी नियमहरू समाजमा रहेका शक्तिशाली व्यक्तिहरूले बनाउछन् भन्ने मान्यता छ । सामाजिक मान्यताको सिद्धान्तअनुसार ‘मेरो विचार वा अनुमानमा अरुले के गर्छन् र मेरो विचार वा अनुमानमा अरुले मैले के गरोस् भन्ने अपेक्षा गर्छन् भन्ने कुरा अत्यन्तै महत्वपूर्ण हुन्छ ।’

अर्को शब्दमा भन्दा व्यक्तिको व्यवहार अरु व्यक्तिको व्यवहार र स्वीकृतिको अपेक्षामा निर्भर हुन्छ । हामी हाम्रा वरिपरिका विशेषतः ती व्यक्तिहरूबाट प्रभावित हुन्छौँ जसको विचार वा धारणा हाम्रो लागि महत्वपूर्ण हुन्छ । यतिबेला हामी सामाजिक सञ्जाल, रेडियो टेलिभिजनलगायत विद्युतीय माध्यमबाट प्रशारित सूचना तथा सन्देश, व्यक्तिहरूका धारणा र विज्ञहरूका सुझावहरूले हामी प्रभावित भएका छौँ । हाम्रो मनमा डर उत्पन्न भएको छ र दिनचर्यालाई फरक तरिकाले सोच्न बाध्य बनाएको छ । हाम्रो आनीबानीमा थुप्रै परिवर्तनहरू आएका छन् । लाउने खाने, सोच्ने, बोल्ने, परनिर्भरता, आकर्षण, बस्तुप्रतिको मोह र दैनिक व्यवहारमा फरक आएको छ ।
हानीकरक सामाजिक मान्यताहरूको पहिचान, असमान शक्ति सम्बन्धको विरुद्धमा रचनात्मक सम्वादको थलो निर्माण, परिवर्तन सम्भव छ र परिवर्तन भइरहेको छ भन्ने सन्देश जनमानसमा प्रवाह, परिवर्तित व्यक्तिहरूको पहिचान, उनीहरूलाई सङ्गठित बनाउने, सम्मान दिने र परिचालन गर्ने साथै सकारात्मक पुरुषत्वका सन्देशहरूलाई प्रशारण गर्नाले नकारात्मक सामाजिक मान्यतालाई परिवर्तन गर्न सकिन्छ ।

(लेखक इन्टरनेशनल अलर्टका वरिष्ठ कार्यक्रम अधिकृत हुन् ।)