■ सनत आचार्य
यही साउन १२ गते सोमबार कपनको आकाशेधारामा बिस्कुटको कार्टुनमा फालिएको अवस्थामा भेटिएकी बच्ची समाजसेवाको नाममा खुलेका दुई संस्थाबीचको सेटिङमा फालिएको तथ्य खुलेको छ ।
बच्चीलाई कार्टुनमा लगेर चौरमा फाल्ने आप्रवासी महिला कामदार समुह संस्थाकी कार्यक्रम संयोजक जानुका गिरी रहेको र, गिरी र केयर बाल गृहकी सञ्चालिका पुष्पा अधिकारीकै मिलेमतोमा नाटकीय ढंगले बच्चीलाई ‘फालिएको’ प्रहरी अनुसन्धानबाट खुलासा भएको छ ।
घटनाको अनुसार चितवन घर भएकी ३८ वर्षीया महिला गर्भवती भएकै अवस्थामा बन्दाबन्दीकै समयमा गत असार ८ मा ‘रेस्क्यू फ्लाइट’द्वारा दुबईबाट नेपाल आएकी थिइन् । उनी आप्रवासी कामदार रहेको बुझिएको छ ।
आफ्नो पेटमा अवैधानिक गर्भ रहेका कारण घरमा श्रीमान् र बच्चासमेत भएकोले तत्काल घर जान सम्भव भएन । आफू नेपाल आउँदा समेत उनले परिवार र आफन्त कसैलाई पनि जानकारी दिएकी थिइनन् । नेपाल प्रवेशसँगै उनलाई नेपाली सेनाको समन्वयमा होल्डिङ जोन आप्रवासी महिला कामदार समूह संस्थामा राखियो ।
प्रहरी श्रोतका अनुसार तामाङ श्रावण ४ गते टिचिङ अस्पताल महाराजगञ्जमा भर्ना भइन् र ६ गते बच्ची जन्माइन् । परिस्थितिले उनलाई यो बच्चा आफुसँग राखेर लालनपालन गर्न निकै कठिन बनायो । तामाङ ९ गते अस्पतालबाट डिस्चार्ज भइ सोही आफु बसेकै संस्थामा गइन् ।
पछि बच्चीको जन्म भइसकेपछि आप्रवासी महिला कामदार समुहका केही जिम्मेवार व्यक्तिसहित उक्त नवजात शिशुलाई अर्काको जिम्मा लगाउने योजना बन्यो । सोको लागि उपयुक्त स्थान बालगृहलाई ठानियो जहाँ अनाथ बालबालिकाहरू राख्ने गरिन्छ ।
उनीहरूको सम्पर्क सम्बन्धका अनुसार बच्ची राख्नका लागि कपनको केयर बालगृह उपयुक्त ठाने । उक्त संस्थाका सञ्चालिका पुष्पा अधिकारीसँग उनीहरुले चरणबद्ध रुपमा कुरा गरे र बच्चीलाई अनौठो पाराले हस्तान्तरण गर्ने योजना बन्यो ।
योजनामुताविक श्रावण १२ गते बेलुकी आप्रवासी महिला कामदार समुह संस्थाका कार्यक्रम संयोजक जमुना गिरीले उक्त बच्चीलाई केयर बालगृह कपन नजिक आकाशेधाराको चौरमा बेलुकी करिब ६ बजे ल्याएर छाडिदिइन् ।
सञ्चालिका अधिकारीले सोही दिन ‘बालगृहका अन्य नानीहरू उक्त दिन कपनको आकाशेधारा चौरमा खेल्न गएको र बेलुकी करिव ६ बजेको आसपासमा एक जना नानीले टेष्टी बिस्कुटको कार्टुनमा रहेको बच्चालाई देखेपछि आफुले जानकारी पाएको’ तत्काल मिडियालाई बोलाई जानकारी गराएकी थिइन् । त्यसपछि आफु उक्त स्थानमा गएर ल्याइ बच्चाको सरसफाइ गरिदिएको, कपाडा पिसाबले भिजेको, कपडा गन्हउने अवस्थामा रहेको, कन्चटमा किराले टोकेझैँ सानो रातो दाग रहेको पनि बताएकी थिइन् ।
प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक शेखरजंग मल्लका अनुसार ‘यो घटनाका सम्बन्धमा आफुले १३ गते सञ्चारको माध्यमवाट थापा पाएको र पुष्पा अधिकारी स्वयंले पनि आफुलाई फोनमार्फत जानकारी दिएको र प्रहरीको कर्तब्यअनुसार मुचुल्का समेत उठाएको’ जानकारी दिए ।
अधिकारीले बच्चीलाई शुक्रबार कान्तिबाल अस्पतालमा लगेर बच्चाको आवश्यक सबै जाँच पनि गराइन् । शनिवारका दिन न्वारन गर्ने र उनको नाम प्राप्तिका राख्ने निधो पनि भयो । । त्यसपछि आगामी मंसिर १८ गते पास्नी गर्ने योजना अधिकारी दम्पत्तिको थियो ।

सञ्चारमाध्यममा अधिकारी दम्पत्तिले दिएको अन्तर्वार्तालाई सुक्ष्म रूपले अध्ययन गर्ने हो भने पुष्पाका श्रीमान् शंकर बस्नेतले बच्चालाई राम्रोसँग पढाएर शिक्षा–दीक्षा दिने र विवाह गरिदिनेसम्मको योजना सुनाउँछन् । यसबाट उनीहरूले भने प्राप्तिकालाई अधिकारी दम्पत्ति उनीहरूले ‘एडप्ट’ गर्ने र आफ्नो सन्तानको रूपमा स्वीकार्न खोजिएको देखिन्छ । तर कानुनी बाधा अड्चनलाई बुझेर नै यस्तो गरेको हुन सक्ने अनुमान गरिएको छ ।
अर्का अधिवक्ता सुजन पाण्डेका अनुसार कपन घटनामा सरासर कानुनविपरीत रहेको भन्दै कसैले पनि यस प्रकारले बेवारिसे अवस्था बनाइ धर्मपुत्र वा पुत्री राख्न नपाउने कानुनमा उल्लेख भएको र यसका लागि विशेष संरक्षणको आवश्यकता देखिएता पनि बालकल्याण अधिकारीमार्फत जानु पर्ने बताए ।
अधिवक्ता लेखनाथ भट्टराई भन्छन्– ‘यसरी एकआपसमा बच्चीलाई लिनेदिने विषय कानुनविपरीत हुन्छ ।’ वहाँका अनुसार कानुनी प्रकृया पूरा गरी आमाबाबुले केही समयसम्म बच्चाको रेखदेखका लागि अर्को व्यक्तिलाई दिन सक्ने तर अनाथका रूपमा हेर्न मिल्दैन ।
प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनसार यो विषयमा प्रहरीले सुक्ष्म रुपले अध्ययन गरिरहेको र कानुन अनुसार कारवाहि हुने जानकारी दिनु भयो । उहाँका अनुसार प्रहरीले बालबालिकासम्बन्धी कानुनको अध्ययन गरिरहेको र दोषी कसैलाई पनि नछाडिने बताउनुभयो ।
त्यसपछि आप्रवासी महिला कामदार समुह संस्थाकी अध्यक्षका साथै कार्यक्रम संयोजक जमुना गिरी बालगृहमा आएको र सोही दिन ७ बजे सबै जनालाई महानागरीय प्रहरी प्रभाग कपनमा बोलाइ बच्ची फिर्ता दिइएको छ ।
सञ्चारका विभिन्न माध्यममा सञ्चालिका अधिकारीले दिएको जानकारी र सामाजिक संजालहरूमा राखिएको अत्यन्त सुन्दर तस्बिर भाइरल भएको थियो । संचालिका आफैले पनि फेसबुकमा फोटो राखेका कारण देश–विदेशबाट लाखौँ रकम जम्मा भएको देखिन्छ । अधिकारीकै अनुसार हालसम्म ५ लाख ९८ हजार ४ सय ७६ रुपिया बच्चीको नाममा आइसकेको बताएकी छिन् । तथापि यो रकम अझ बढि हुने अनुमान गरिएको छ ।
सुत्रका अनुसार प्रहरी प्रधान कार्यालयले समेत यस घटनालाई अति गम्भीरताका साथ हेरिहरेको र निकट भविष्यमा अनुसन्धान टोली बनाइ अध्ययन गर्ने सोच बनाएको बुझिएको छ ।
प्रतिक्रिया