नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहअध्यक्ष प्रचण्डको सुरक्षा टोलीका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रचण्डको बाहिरी सुरक्षा घेरामा खटिएका ६ सुरक्षाकर्मीमा सङ्क्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
प्रचण्डलगायत परिवारका समस्त सदस्यको भने कोरोना जाँच रिपोर्ट निगेटिभ आएको बताइएको छ । कुपण्डोलस्थित बिध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबमा प्रचण्ड परिवारका सदस्य र सुरक्षाकर्मीलगायत ५३ जनाको कोरोना परीक्षण गरिएको थियो ।
मन्त्री कार्की होम आइसोलेशनमा
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेशनमा बसेका छन् । केही दिन पहिले सङ्घीय राजधानी काठमाडौंमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश नंं २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण भएको पुष्टिसँगै उनी होम आइसोलेशनमा बसेका मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलले जानकारी दिएका हुन् ।
बताइएअनुसार मन्त्री कार्कीले आफूहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षण गर्न आग्रह गरेका थिए । मन्त्रीको निवासमा कार्यरत सबैको स्वाब लिने तयारी भइरहेको सचिव पौडेलको भनाइ छ ।
प्रतिक्रिया