कोरोनाविरुद्धको सरकारी कदम प्रभावकारी रहेको राष्ट्रपतिको प्रतिक्रिया

कोरोनाविरुद्धको सरकारी कदम प्रभावकारी रहेको राष्ट्रपतिको प्रतिक्रिया


राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी लिनुभएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत सम्बद्ध व्यक्ति व्यक्तित्वसँग कोरोना महामारीविरुद्ध सरकारले हालसम्म चालेका कदमबारे जानकारी लिँदै राष्ट्रपति भण्डारीले महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताउनुभएको छ ।

राष्ट्रपति भवनमा शुक्रबार (२३ साउन) सोबारे जानकारी लिँदै उहाँले बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकले रोजगारी गुमाउनु परेको र हालैका दिनमा सङ्क्रमितको सङ्ख्या बढेकामा चिन्ता व्यक्त गर्नुभयो ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड सबैबाट पालना गरिनुपर्नेमा राष्ट्रपतिको जोड थियो । सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल पनि उपस्थित थिए ।

pict:rss