नेपालमा संक्रमितको संख्‍या २३,३१०, सोमबार थप ३ सय ३८ जनामा संक्रमण

नेपालमा संक्रमितको संख्‍या २३,३१०, सोमबार थप ३ सय ३८ जनामा संक्रमण


नेपालमा पछिल्लो २४ घण्टामा (२६ साउन सोमबार) थप ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्‍या २३ हजार ३ सय १० पुगेको छ ।

नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार २३ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्ट भएको जानकारी दिए । बताइएअनुसार उपत्यकामा सोमबार थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौंमा ३६, ललितपुरमा ४ तथा भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका १२ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ६ जनामा, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौंका ८ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, स्टार अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका ३, काठमाडौंका ८ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । विध ल्याबमा गरिएको परीक्षणमा पनि काठमाडौंका एक जनामा र ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका अर्का एकमा संक्रमण पुष्टि भएको बताइएको छ ।