सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुई जनाको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुई जनाको मृत्यु


अमेरिकाको सियाटलस्थित स्पेस निडलनजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट अफ सियाटल’ फुड फेस्टिभलमा आइतबार (२६ जुलाई) साँझ भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने दुई वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । प्रहरीले घटनाको अनुसन्धान थालेको छ भने आक्रमणकारी पक्राउ परेका छन् वा छैनन् भन्नेबारे तत्काल जानकारी दिएको छैन ।

शहरको फायर डिपार्टमेन्टकी प्रवक्ता ग्रेस नुनेजका अनुसार गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइते पाँच जनालाई हार्बरभ्यू मेडिकल सेन्टरमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये ५६ वर्षीया महिलाको अवस्था गम्भीर छ भने दुई वर्षीय बालक, २३ वर्षीय पुरुष र ३९ वर्षीया महिलाको अवस्था स्थिर रहेको जनाइएको छ । अर्की ४० वर्षीया महिलालाई सामान्य चोट लागेको छ ।

वार्षिक रूपमा आयोजना हुने यस महोत्सवमा सयौँ खाद्य तथा खुद्रा व्यवसायी, कलाकार र ठूलो सङ्ख्यामा सर्वसाधारण सहभागी भएका थिए । स्थानीय समयअनुसार साँझ करिब ६ बजे कार्यक्रम समापनतिर अघि बढिरहेका बेला गोली चलेपछि सहभागीहरू भागाभाग गर्न बाध्य भएका थिए । त्यसपछि ठूलो सङ्ख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरी सियाटल सेन्टर परिसर खाली गराइएको थियो ।

वासिङ्टन राज्यका गभर्नर बब फर्गुसनले घटनाबारे नियमित जानकारी लिइरहेको र स्थानीय प्रहरीलाई सहयोग गर्न राज्य प्रहरीको स्वाट टोली परिचालन गरिएको बताएका छन् । उहाँले पीडितका परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार तथा सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीको प्रशंसा गरे ।

सन् १९८२ देखि आयोजना हुँदै आएको ‘बाइट अफ सियाटल’ तीनदिने खाद्य तथा सांस्कृतिक महोत्सव हो । आयोजकका अनुसार यस कार्यक्रममा हरेक वर्ष करिब तीन लाख ५० हजार सहभागी हुने गरेका छन् ।