इतिहासले एउटा कुरा स्पस्ट देखाएको छ ? त्यो हो जनताको विश्वास गुमाएका राजनीतिक दलहरू केवल नाममा बाँच्छन् । कहिल्यै शक्तिशाली रहेका धेरै दलहरू आज इतिहासका पानामा सीमित छन् । प्रजा परिषद् त्यसको एउटा उदाहरण हो । नेपाली कांग्रेस प्रजा परिषद् बन्ने लाइनमा छ भन्ने अभिव्यक्ति कुनै भविष्यवाणी होइन; यो आत्मसमीक्षाको चेतावनी हो ।
✍ दीपकराज जोशी
नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, प्रजातान्त्रिक आन्दोलनको पर्याय मानिँदै आएको संस्था हो । २००७ सालको प्रजातन्त्र स्थापना, २०४६ को बहुदलीय व्यवस्थाको पुनर्वहाली र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म कांग्रेसको भूमिका अतुलनीय छ । तर, इतिहासको विरासतले मात्र वर्तमानको अस्तित्व जोगाउन सक्दैन ।
आज साधारण कार्यकर्तादेखि सर्वसाधारण नागरिकसम्म एउटा गम्भीर प्रश्न उब्जिएको छ- के नेपाली कांग्रेस आफ्नो गौरवशाली इतिहासमै सीमित हुने बाटोतर्फ उन्मुख छ ? यो प्रश्न केवल विपक्षीको आलोचना वा अतिरञ्जना होइन, बरु पार्टीकै आन्तरिक संरचना र कार्यशैलीले जन्माएको कटु यथार्थ हो । नेपाली कांग्रेस सत्ता र नेतृत्वको होडबाजीका कारण पटक-पटक पार्टी विभाजित भयो । चाहे त्यो २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को गठन होस् वा अन्य समयमा भएका आन्तरिक विसर्जनहरू । आज पनि विचार र सिद्धान्तभन्दा व्यक्ति-केन्द्रित गुटहरू पार्टीको तल्लो तहसम्मै झाङ्गिएका छन् ।
नेपाली कांग्रेसको अर्को दुखद इतिहास भनेको आफ्नै प्रभावशाली, निष्ठावान् र विचारशील नेताहरूलाई समेट्न वा पचाउन नसक्नु हो । सर्वोच्च नेता गणेशमान सिंह र संस्थापक नेता कृष्णप्रसाद भट्टराई जस्ता शीर्ष व्यक्तित्वहरूले जीवनको उत्तरार्धमा आफ्नै पार्टीभित्र अपमानित र उपेक्षित महसुस गर्दै पार्टी छाड्नु वा राजनीतिबाट अलग हुनुपरेको इतिहास साक्षी छ । त्यस्तै, वैचारिक रूपमा सबल र विशाल जनाधार भएका खुमबहादुर खड्का तथा गोविन्दराज जोशी जस्ता तल्लो तहसम्म बलियो सङ्गठनात्मक पकड भएका नेताहरूलाई घेराबन्दी गर्ने, निष्कासन गर्ने र पचाउन नसक्ने परिपाटी हुर्किएको छ । चापलूसी र गुटगत वफादारितालाई प्राथमिकता दिने यही प्रवृत्तिका कारण धेरै योग्य र क्षमतावान् नेतृत्व पछाडि पारिए ।
यी घटनाहरूले नेपाली कांग्रेसभित्र एउटा विडम्बनापूर्ण यथार्थ उजागर गर्छन् ? जसले सङ्गठन बनायो, जोसँग बलियो जनाधार रह्यो, उसैलाई पार्टीभित्र पछाडि पारियो । शीर्ष नेतृत्वले सङ्गठनात्मक पकड भएका नेताहरूलाई संरक्षण गर्नुको सट्टा चुनौतीका रूपमा हेर्ने र निष्कासन वा किनारा लगाउने परिपाटी बसालेको छ । इतिहासले स्पष्ट पार्छ कि आफ्नै आधारस्तम्भहरूलाई पचाउन नसक्ने र सङ्गठन निर्माताहरूलाई भित्तामा पुर्याउने यो रोगले कांग्रेसलाई कमजोर बनाउँदै लगेको छ । यदि पार्टीले व्यक्तिभन्दा पद्धति र गुटभन्दा योगदानलाई सम्मान गर्न सिकेन भने, इतिहासको विरासतले मात्र वर्तमान र भविष्य जोगाउन असम्भव हुनेछ ।
इतिहास केवल प्रेरणाको स्रोत हुन सक्छ, भविष्य निर्माणको एकमात्र आधार हुन सक्दैन । यदि नेपाली कांग्रेसले आफ्नो कार्यशैली, आन्तरिक लोकतन्त्र र वैचारिक स्पष्टतामा व्यापक रूपान्तरण गरेन भने इतिहासका पानामा सीमित हुने खतरा वास्तविक देखिन्छ ।
बिपी कोइरालाले अघि सार्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद को जगमा उभिएको कांग्रेस आज वैचारिक रूपमा अलमलमा देखिन्छ । सत्ता प्राप्तिका लागि सिद्धान्तहीन गठबन्धनहरू गर्नु र विचार नमिल्ने दलहरूसँग सम्झौता गर्दा पार्टीको मौलिक पहिचान धमिलिएको छ । नयाँ पुस्ताका मुद्दाहरू जस्तै डिजिटल अर्थतन्त्र, सुशासन, रोजगारी सिर्जना, र नवप्रवर्तन जस्ता बिषय हरुलाई सम्बोधन गर्न नसक्दा पार्टी युवा वर्गबाट टाढिँदै गएको छ ।
नेपाली कांग्रेस जन्मिनुअघि नै विभाजनको संस्कार सुरु भइसकेको थियो । मातृकाप्रसाद कोइरालाको गान्धीवादी धारलाई महावीरशमशेर, महेन्द्रविक्रम शाह, डीएन प्रधानजस्ता नेताले साथ दिए भने बीपी कोइरालाको धारमा सुवर्णशमशेर, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई लगायत उभिए । पार्टी अध्यक्ष मातृकाप्रसाद कोइराला भए पनि व्यवहारमा लगाम बीपीकै हातमा थियो। यही ढाँचा, नाममा एकता, व्यवहारमा गुट पछि दशकौंसम्म दोहोरिइरह्यो ।
यो लेख लेखिँदै गर्दा नेपाली कांग्रेस व्यवहारतः दुई टुक्रामा विभाजित देखिन्छ । १४औं महाधिवेशनबाट निर्वाचित संस्थापनइतर पक्ष (कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा) र शेरबहादुर देउवा नेतृत्वको समूहले अलग-अलग संरचना र सम्पर्क कार्यालयसमेत खडा गरिसकेका छन् । देउवा समूह नयाँ कांग्रेस नामक छुट्टै पार्टी गठनको गृहकार्यमा जुटेको छ भने अर्को पक्षले १५औं महाधिवेशनको तयारी अघि बढाइरहेको छ । सदस्यता नवीकरण र महाधिवेशनको वैधताजस्ता प्राविधिक विवादका पछाडि वास्तविक कुरा नेतृत्व र सत्ता-समीकरणकै हो ।
इतिहासले एउटा कुरा स्पस्ट देखाएको छ ? त्यो हो जनताको विश्वास गुमाएका राजनीतिक दलहरू केवल नाममा बाँच्छन् । कहिल्यै शक्तिशाली रहेका धेरै दलहरू आज इतिहासका पानामा सीमित छन् । प्रजा परिषद् त्यसको एउटा उदाहरण हो । रोचक कुरा त, खुद कांग्रेसकै स्थापना सम्मेलनमा पार्टीको नाम नेपाल प्रजापरिषद् नै राखेर अगाडि बढ्ने प्रस्ताव गणेशमानसिंहले राखेका थिए, तर भट्टराई दाजुभाइ लगायतले विरोध गरेपछि नेपाली कांग्रेस नाम रहन गयो । त्यसैले नेपाली कांग्रेस प्रजा परिषद् बन्ने लाइनमा छ भन्ने अभिव्यक्ति कुनै भविष्यवाणी होइन; यो आत्मसमीक्षाको चेतावनी हो ।
कुनै पनि राजनीतिक दलको दीर्घजीवन, साख र औचित्य व्यक्तिको क्षणिक उपस्थिति वा प्रभावमा होइन, बरु उसले बोकेको विचार, दर्शन, सिद्धान्त र बलियो संस्थागत प्रणालीमा टिकेको हुन्छ । अन्ततः कुनै पनि राजनीतिक दलको भविष्य विपक्षीले होइन, आफ्नै निर्णय, संस्कार र कार्यशैलीले निर्धारण गर्छ । इतिहास बचाउने कि इतिहास बन्ने, यो निर्णय नेपाली कांग्रेसले आफैँ गर्नुपर्ने समय आएको छ ।
नेपाली कांग्रेसले आफ्नो भविष्य सुरक्षित गर्न व्यक्तिभन्दा पद्धति र गुटभन्दा विचारलाई माथि राख्ने आन्तरिक प्रणालीको विकास गर्दै गुटबन्दीको अन्त्य गर्नुपर्छ । यसका साथै, युवा पुस्ताका नयाँ एजेण्डालाई आत्मसात् गर्दै सुशासन एवं पारदर्शी राजनीति प्रस्तुत गर्नु र बिपीको प्रजातान्त्रिक समाजवादलाई आधुनिक अर्थतन्त्र तथा सामाजिक न्यायसँग जोडेर पुनर्व्याख्या गर्नु आजको आवश्यकता हो । वास्तवमा, नेपाली कांग्रेसका लागि यो समय गम्भीर आत्मसमीक्षा र व्यापक पुनःसंरचनाको हो; यदि इतिहासको आडमा वर्तमानका कमजोरी ढाक्ने प्रयास मात्र जारी रह्यो भने, जनता र समयले नयाँ विकल्प खोज्ने निश्चित छ ।
नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद् (वि.सं. १९९३) ले राणाशासनविरुद्ध क्रान्तिको बिउ रोपेर इतिहास रच्यो, तर कालान्तरमा सङ्गठन जोगाउन, नयाँ पुस्तालाई आकर्षित गर्न र आन्तरिक फुट रोक्न नसक्दा केवल इतिहासको पानामा सीमित हुन पुग्यो ।
कांग्रेस प्रजा परिषद्कै नियतिमा पुग्ने जोखिम हुनुका पछाडि मुख्य रूपमा चारवटा कारणहरू जिम्मेवार देखिन्छन्: पहिलो, ऐतिहासिक विरासतको अति-अहङ्कार देखाउँदै वर्तमानको सुशासन खोजिरहेको नयाँ पुस्ताको उपेक्षा; दोस्रो, आन्तरिक मतभेदका कारण तल्लो तहसम्म बलियो सङ्गठनात्मक पकड भएका नेताहरूको घेराबन्दी तथा निष्कासन; तेस्रो, बिपीको मूल धरातल छाडेर सत्ताका लागि गरिने सिद्धान्तहीन गठबन्धन; र चौथो, युवा बेरोजगारी, डिजिटल युग र भ्रष्टाचारविरुद्धको जनआक्रोशलाई सम्बोधन गर्न नसक्दा नयाँ राजनीतिक शक्तिहरूतर्फ जनाधार ढल्किनु ।
इतिहास केवल प्रेरणाको स्रोत हुन सक्छ, भविष्य निर्माणको एकमात्र आधार हुन सक्दैन । यदि नेपाली कांग्रेसले आफ्नो कार्यशैली, आन्तरिक लोकतन्त्र र वैचारिक स्पष्टतामा व्यापक रूपान्तरण गरेन भने इतिहासका पानामा सीमित हुने खतरा वास्तविक देखिन्छ । यदि कांग्रेसले समयमै वैचारिक पुनर्जागरण, आन्तरिक लोकतन्त्र, सक्षम नेतृत्वको विकास र जनताप्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिन सकेन भने, आफ्नो ऐतिहासिक योगदान हुँदाहुँदै पनि यसको राजनीतिक प्रभाव निरन्तर खुम्चिन सक्छ । कुनै पनि राजनीतिक दलको दीर्घजीवन, साख र औचित्य व्यक्तिको क्षणिक उपस्थिति वा प्रभावमा होइन, बरु उसले बोकेको विचार, दर्शन, सिद्धान्त र बलियो संस्थागत प्रणालीमा टिकेको हुन्छ । अन्ततः कुनै पनि राजनीतिक दलको भविष्य विपक्षीले होइन, आफ्नै निर्णय, संस्कार र कार्यशैलीले निर्धारण गर्छ । इतिहास बचाउने कि इतिहास बन्ने, यो निर्णय नेपाली कांग्रेसले आफैँ गर्नुपर्ने समय आएको छ ।
प्रतिक्रिया