राष्ट्रिपति विद्यादेवी भण्डारीले विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आज (२७ साउन) एक शुभकामना सन्देश दिनुहुँदै भन्नुभएको छ– ‘ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पुऱ्याउने विश्वास लिएको छु ।’
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको राष्ट्रपतिले स्मरण गर्नुभएको छ ।
भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको राष्ट्रपतिले कामना गर्नुभएको छ ।
द्वापर युगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न बासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ । राष्ट्रपतिले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्री भावना जागृत गरी हामी बीचको भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया