भारतबाट स्थलमार्ग हुँदै आवतजावत गर्न तोकिए १० नाका

भारतबाट स्थलमार्ग हुँदै आवतजावत गर्न तोकिए १० नाका


सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल आउनका लागि १० वटा सीमा नाका तोकेको छ । यसअघि २० वटा नाका तोकिएकोमा कोरोना महामारी बढेका कारण १० वटा मात्र सीमित गरेको सरकारका प्रवक्ता मन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन् ।

उनका अनुसार नेपाल प्रवेशका लागि तोकिएका नाकाहरूमा काकडभित्ता (झापा), रानी (मोरङ), माडर (सिराहा), गौर (रौतहट), वीरगञ्ज (पर्सा), बेलहिया (रुपन्देही), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली) र गड्डाचौकी (कञ्चनपुर) रहेका छन् ।

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्न ती नाका तोकिएका हुन् ।

ती नाकाबाट आउने व्यक्तिहरूको अभिलेख प्रदेश सरकारका समन्वय र नेपाली सेनाको सहयोगमा सम्बन्धित जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले राखि ती व्यक्तिलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गर्ने बताइएको छ ।

यस्तै, भारततर्फको सीमावर्ती क्षेत्रमा रहेका वस्ती एवं बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिरहेका अवस्थालाई मध्यनजर गर्दै नेपाल–भारत सीमाबाट नेपाल प्रवेश गर्न तोकिएका १० नाकाबाहेक अन्यत्र कुनै पनि स्थानबाट दैनिक रूपमा किनमेलका लागि आवतजावत गर्न, उद्योगका लागि कुनै पनि प्रकारको जनशक्ति र कामदार ल्याउन एवं कुनै पनि प्रकारको आवतजावत हुन नदिने व्यवस्था सम्बन्धित जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले मिलाउने जिम्मा दिइएको बताइएको छ ।