कपिलवस्तुका दुई जना कोरोना संक्रमितको मृत्यु

कपिलवस्तुका दुई जना कोरोना संक्रमितको मृत्यु


नारद कोहार, कपिलवस्तु

बुटवलको कोरोना अस्पतालमा कपिलवस्तुका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा उपचारत कपिलवस्तु नगरपालिका वडा नं. २ का ४२ वर्षीय कृष्ण कुमार गुप्ता र कृष्णनगर नगरपालिका वडा नं. १२ भगवानपुरका २५ वर्षीय प्रदीप तेलीको मृत्यु भएको कपिलवस्तु अस्पतालका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

कपिलवस्तु नगरपालिकाका ४२ वर्षीय गुप्तालाई कोरोना भाइरसको लक्षण देखिएपछि यही साउन २५ गते बुटवल कोरोना विषेश अस्पतालमा भर्ना गरिएको थियो । सोही दिनबाट नै उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । स्वास्थ्यमा थप समस्या देखिएर उनको मंगलबार (साउन २७) राती मृत्यु भएको थापाले बताए ।

अर्का कृष्णनगर नगरपालिका वडा नं. १२ भगवानपुरका २५ वर्षीय युवाको पनि मृत्यु भएको छ । ‘मंगलबार मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आएका उनीमा कोरोनाको लक्षण देखिनासाथ कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राख्नु परेको थियो, राती स्वास्थ्यमा समस्या आएपछि उनको पनि मृत्यु भएको उनले बताए ।

उनको हिजो स्वाब संकलन गरी कोभिड–१९ परिक्षणका लागि प्रयोगशाला पठाइएकोमा हालसम्म रिपोर्ट आएको छैन ।

कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा ८ सय ८० जना कोरोना संक्रमित छन ।