आफ्नो औचित्य समाप्त भएको हेर्दै नेपाली काङ्ग्रेस-४

आफ्नो औचित्य समाप्त भएको हेर्दै नेपाली काङ्ग्रेस-४


■ दामोदर पौडेल

अहिलेको राजनीति देखाउनको लागि ‘निष्ठा’ तर निहितार्थमा ‘महत्वाकाङ्क्षा’ भएको छ । दुषित माध्यम र गलत लक्ष्यको राजनीतिले जनतालाई सुखी र खुसी बनाउन किमार्थ सक्दैन । लक्ष्य प्राप्त भए पनि जनता डरले जे पनि मान्न बाध्य हुन्छन् । एक विद्वान्ले कुनै समयमा भनेका थिए कि उनलाई ६० लाख सेना दिने हो भने उनले जनतालाई माइनस १०० डिग्रीमा पानी उम्लन्छ भन्न लगाउन सक्छन् । तर, पानी उमाल्न त तताउनै पर्छ । अहिले पनि त मानिसहरू बोर्डिङले बर्बाद गरेको छ भन्ने पक्षमा मत दिन्छन् तर आफ्ना केटाकेटीचाहिँ सकभर बोर्डिङमै पढाउँछन् । बोर्डिङले बर्बाद गरेका भए आफ्ना बच्चालाई किन बोर्डिङमा पढाउँथे त ? कस्तो विरोधाभास !?

त्यसैले स्वतन्त्रताका सबै रूपहरू सुन्दर हुँदैनन् । स्वतन्त्रताको प्रयोग गरेर नै चुनावमा काठमाडौंका पुर्वमेयरले आफैले हुलदङ्गा गर्न लगाएर र विद्या भण्डारीलाई रातो छरेर काङ्ग्रेसले त्यसो गरेको भन्ने आरोप लगाइ काङ्ग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई चुनाव हराएको हो भनेर सञ्चारमा प्रष्ट भन्दछन् । समानता र विकासको नारा लाग्दछ तर विचारबाट हैन गरिवलाई मासु र रक्सी दिएर चुनाव जितिन्छ । उनीहरूलाई किन धनी बनाउने ? जनता धनी बने भने त मासु–रक्सी खुवाएको भरमा चुनाव जितिन्छ र ?

व्यवसायिक क्रान्तिकारीहरूले जहिले पनि असम्भव र अव्यवहारिक आदर्शका कुरा गरेर जनतालाई भ्रममा बाँच्न तथा आफूहरू ठूला र इमान्दार मानिसहरू भएको भ्रम दिन सफल हुन्छन् । कहिलेकाहीँ उनीहरूले दिएका भ्रमहरूको अधारमा सफलता प्राप्त भए पनि विभिन्न निहुँमा सफलताको सदुपयोग छोडेर पुनः त्यही चिराग थाम्न पुग्दछन् । सत्ता प्राप्त भएपछि अरु अझै पनि भ्रम दिन सक्ने हुँदा अझै बढि बेइमान हुन पुग्दछन् । नेकपा माओवादी जनताको हितको नाममा सत्तासम्म पुग्यो र वैद्य तथा विप्लव जस्ता केही नेता र समुहहरू पुनः क्रान्तिकै कुरा गरिरहेका छन् । कागजमा समाजवाद उन्मुख लेख्न सफल भएका क्रान्तिकारीहरू त्यही कागज देखाएर उपलब्धि गिन्ती गराइरहेका छन् । जनता अझै व्यापक अभाव र गरिवी तथा जातीय हिंसा र मानसिक विखण्डनको दौरबाट गुज्रेका छन् ।

विचार, सङ्गठन, क्रियाकलाप, नेतृत्व भनिन्छ तर किन केही पनि नभएको ? सिद्धान्त तथा जनता बीचमा द्वेषमा ल्याउने राजनीतिको चर्को भूमरीबाट समाज मुक्त हुनै पर्दछ । यसको लागि सवल, इमान्दार, पर्दा खसेपछि मञ्च छोड्न सक्ने नेता चाहिन्छ । बेलायतका टोनी ब्लेयरले प्रधानमन्त्री छोड्दै गर्दा भनेका थिए कि जब पर्दा खस्छ, तब यो स्टेज छाड्ने समय हो (when the curtaic falls, it is trme to leave) । तब उनले दलबाट खुसीले नै पद छोडे जब उनले दललाई आफू नेता हुँदा पहिलाको भन्दा कमजोर भएको देखे । हाम्रा नेताहरू चुनाव हारेमा दलको नेता हुन त छोड्दैनन् नै बरु दलले हारेको संसदमा पनि कुनै कारणले बहुमत प्राप्त दल फुटेमा मिलिजुली सरकारमा प्रधानमन्त्री बन्न पाउँछु कि भनेर संसदको नेता बन्न लालयित हुन्छन् ।

‘नेता’हरू माथिकालाई तानेर नेता बन्ने र तलकालाई फाँडेर आफूसम्म नपुग्ने वातावरण बनाइरहन्छन् । त्यसरी आफूले चुनाव जितेर पनि आफ्ना अरुले हारेपछि चुनाव जित्नुको राजनैतिक हैसियत स्थगित हुन्छ । अर्काे चुनावभन्दा पहिला सरकारमा जानको लागि दल फुटाउने प्रार्थना नै गर्नुपर्ने हुन्छ । के यही हो त राजनीतिक चरित्र ?

हरेक नेताले मसँगै समाजले सुख पायो भने मेरो सुरक्षा हुन्छ र सम्मान पनि हुन्छ, मेरो लक्ष्य पनि यही हो भन्ने सोच र ब्यवहार गर्न सक्नु पर्दछ । बीपीले त भनेकै थिए कि मध्यमवर्गको ब्यक्ति भएकोले आफू पनि सबै नेपालीको हैसियत आफ्नो जस्तै बनाउन राजनीतिमा लागेको हो र हरेक नेपालीले दुधसहितको सन्तुलित भोजन पाओस्, स्वास्थ्य र शिक्षामा राम्रो पहुँच होस् । उनको आशयलाई नेपाली नेताहरूले व्यवहारतः आत्मसात गरे हुने । काङ्ग्रेसहरूमा जनस्तरमा धेरैमा इमान्दारी छ तर नेताहरूका गुट–उपगुट र उनीहरूको पछि लागेर योग्यता बनाउन पर्ने बाध्यताले उनीहरू पनि बिग्रेका जस्ता देखिएका छन् ।

अहिले काङ्ग्रेसमा गुट–उपगुटको स्थायी स्वभावको अन्त्य भएमा मात्र पनि आधा समस्या समाधान हुन्छ । यो समाधानको एउटै उपाय भनेको दलभित्रको चुनाव र देशको चुनावमा चुनाव लड्ने निश्चित क्राइटेरिया बनाउने र इमान्दार, क्रियाशील, क्षतावान नेताहरूलाई तत्–तत् ठाउँमा चुनाव जिताउने । यसले दलभित्र आधाभन्दा बढि समस्या समाधान गर्दछ ।

चुनाव कस्तो त भन्ने सवालमा यसले स्थायी लवी अनि बेइमानीको स्थायी चरित्रलाई तोड्न सक्दछ । गुटहरू अस्थायी प्रकृतिका वा तथ्यमा आधारित हुन्छन् नेताहरूको पछि लाग्ने आधारमा होइन ।

प्रथमतः नेपाली काङ्ग्रेसले केन्द्रिय समितिको चुनावमा ७० वर्ष कटेपछि भाग लिन नपाउने ब्यवस्था गर्नु अनिवार्य छ । त्यस्तै दलको सभापति समेतका पदाधिकारी पदमा एक पटक भन्दा बढि रहन नपाउने गरिनु पर्दछ । देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री जस्ता पदमा पनि एकपटकभन्दा बढि समय रहन नपाउने ब्यवस्था हुन आवश्यक छ । विपी, मण्डेला, माहाथिर महमद, तेङ स्याओ पिङ, ली क्वान यु जस्ता नेता पनि कहिलेकाहीँ देखिन सक्छन् । त्यस्ता नेता भएमा तिनको लागि भने कम्तीमा सम्बन्धित समितिका ७५ प्रतिशत सदस्यले समर्थन गरेमा मात्र ७० वर्ष कटे पनि चुनाव लड्न सक्ने ब्यवस्था गर्न सकिन्छ ।

प्रान्तमा ६५ वर्षसम्म मात्र चुनाव लड्न पाइने ब्यवस्था हुनु पर्दछ । यसले अहिले देखिएका करिव २५ प्रतिसत नेताहरूको ठाउँमा नयाँ अनुहार आउने छन् । पुराना लवी र गुट धेरै हदसम्म भताभुङ्ग हुने छन् । स्थानीय तथा जिल्ला तहमा उमेरको हद राख्न आवश्यक छैन तर एक पटक कुनै पदमा रहेपछि अर्को पटक सोही पदमा कम्तीमा ७५ प्रतिसत सम्बन्धित तहका सदस्यहरूको मत आवश्यक पर्ने ब्यवस्था गर्न सकिन्छ ।

पार्टीका सबै तह, भातृ–सङ्गठन, शुभेच्छुक सङ्गठनमा पूर्वसभापति र सोही स्तरका राज्यका पदका प्रमुख हुनेहरूलाई सल्लाहकार समितिमा वरिष्ठतम् पद दिने र अरुलाई सदस्य पद दिने गरेर सल्लाहकार समिति बनाउन अनिवार्य छ । केन्द्रमा प्रधानमन्त्री, पार्टी सभापति भएका, प्रान्तमा पनि पार्टी सभापति र मुख्यमन्त्री भएका, जिल्लामा सभापति र जिल्ला समन्वय समितिका सभपति र उपसभापति भएका र स्थानीय निकायमा सभापति र स्थानीय निकायमा प्रमुख र उपप्रमुख भएकाहरूलाई वरिष्ठ नेताको सम्मान दिएर उनीहरूलाई सम्बन्धित तहको समितिमा स्थायी आमन्त्रितसमेत राख्नु पर्दछ । उनीहरूका अनुभव, सम्पर्कहरू दलको लागि ठुला सम्पत्ति हुन्छन् ।

दलमा यो ब्यवस्था हुने हो र हरेक तहमा त्यस तहको पद सम्बन्धमा निर्णयको अधिकार दिने हो भने लोकतन्त्रको उचित अभ्यास पनि हुन्छ । मानिसहरू किन पदको लागि मरिहत्ते गर्दछन् ? यसको उत्तर सुख–सुविधा नै हो । दलमा कुनै पनि पदमा रहनेले कुनै पनि निर्णय गर्दा सोही तहका कम्तीमा पाँच जना नेताहरूको समुह बनाएर उनीहरूको रायमा मात्र निर्णय गर्नुपर्ने र विकासका काममा सम्भव भए जनसाधारणलाई पनि निरीक्षणमा सहभागी बनाउने गरेमा या त इमानदारी हुन्छ या बेइमानी हुन खोजेमा पार्टीबाट लगाम लाग्दछ ।

पार्टीमा जनप्रिय, इमानदार र त्यागीले आफ्ना हैसियत बुझ्नु पर्दछ । त्यो नभए दलमा विवाद चुलिन्छ । भन्नै पर्दछ कि कुनै समयमा गिरिजाप्रसाद कोइराला अरु नेताहरूभन्दा निडर भएर संगठन गर्थे । उनमा जनाधार राम्रो थियो । चुनाव पनि उनकै मुख्य भूमिकामा काङ्ग्रेसले जित्यो । तर उनले योग्यता र विभिन्न अवस्थामा क्षमता र त्याग देखाएका गणेशमान, केपी जस्ता नेताको सम्मान गर्न सकेनन् । उनीहरूले पनि जे भए पनि उनी जनप्रिय र कार्यकर्तामा लोकप्रिय हुन् । उनलाइ उचित सल्लाह दिनु पर्दछ तर अनावश्यक रूपमा हेप्न हुँदैन भन्ने सोच्न सकेनन् । यही नै नेकाको कठिनाइ र कार्यकर्तामा विचलन आउनुको प्रमुख कारण हो । ती तीनै जनामा कमजोरी भए र त्यसको परिणाम पछिसम्म भोग्न परेको छ ।

अब काङ्ग्रेसको चुनाव नजिकै आउँदैछ । नेकामा आउनैपर्ने धेरै र आए राम्रो नै हुने केही नेताहरूलाई विनापुर्वाग्रह जिताएर केन्द्रिय कार्यसमितिमा लग्ने हो भने काङ्ग्रेसको हैसियत धेरै राम्रो हुन्थ्यो कि ? गुटको अन्त्य हुने थियो कि ? अरु तहमा पनि त्यस्तै गर्न सकिन्छ कि ? त्यस्ता केही नेताको नाम यसप्रकार प्रस्तुत गर्न सकिन्छ– प्रकाशमान सिंह, प्रदिप गिरि, विश्वप्रकाश शर्मा, शेखर कोइराला, बालकृष्ण खाण, मीन विश्वकर्मा, विजय गच्छेदार, डा. चन्द्र भण्डारी, रमेश लेखक, एनपी सावद, मीनेन्द्र रिजाल, महेन्द्र यादव, रामकृष्ण यादव, गगन थापा, रामहरि खतिवडा, मोहनबहादुर बस्नेत, विमलेन्द्र निधि, फर्मुल्लाह मन्सुर, धनराज गुरुङ, प्रदीप पौडेल, अजय चौरसिया, लालबाबु सिंह, दीपक गिरि, बद्री पाण्डे, राजिवविक्रम शाह, डा. डीला संग्रौला, इश्वरी न्यौपाने, किरण यादव, चित्रलेखा यादव भीमसेनदाश प्रधान, गोविन्द भट्टराई, सीता यादव, अर्जुननरसिंह केसी, डा. नारायण खड्कासमेत केही अरु । यस्ता नेता नेपाली काङ्ग्रेसको केन्द्रिय नेतृत्वदेखि केन्द्रिय सदस्यसम्म विनापुर्वाग्रह आउने हो भने सायद काङ्ग्रेस बदनाम हुँदैनथ्यो ।