■ नारद कोहार, कपिलवस्तु
भारतबाट अवैध रुपमा ल्याइएको २४ लाख ५० हजार भारतीय रकम सशस्त्र प्रहरी बल कृष्णनगरले बरामद गरेको छ ।
बिहीबार (२९ साउन) बिहान ४ बजे कृष्णनगरको लिंकगेटबाट ३ सय मिटरपूर्व सशस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले सो रकम बरामद गरेको हो ।
सशस्त्र प्रहरीको ड्युटी रहेको बाटोमा भारत हुँदै झोलामा भिरेर एक व्यक्तिले सेनेटाइजर र औषधीको पोकामा लुकाएर सो रकम ल्याएका हुन् । नेपाली भूभागमा दशगजा भन्दा ५० मिटरभित्र गरिएको चेकजाँजका क्रममा शुरुमा ती व्यक्तिले झोला खोलेर सेनेटाइजर र औषधी रहेको भन्दै गस्तीमा रहेको सशस्त्रको टोलीलाई झुक्याउन खोजेका थिए ।
सशस्त्र प्रहरीले झोला हेर्न थालेपछि ती व्यक्ति झोलामा रहेको रकम, औषधी र सेनिटाइजर छोडेर भारततर्फ भागेको सशस्त्र प्रहरी राजश्व गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायव उपरीक्षक सुशीेल कुमार शाहीले बताए ।
उक्त झोला नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीय पत्रकारको रोहबरमा खोल्दा झोलामा रु २४ लाख ५० हजार भारतीय रकम (नेपाली रु ३९ लाख २० हजार), ४२ पत्ता मधुमेहको औषधी र २ बट्टा सेनिटाइजर फेला परेको सशस्त्र प्रहरी नायव उपरीक्षक शाहीले बताए ।
बरामद गरिएको नगद ५ सयको ४९ गड्डी भारतीय रकम रहेको र आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी रहेको उनले बताए ।
प्रतिक्रिया