त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
पनिकाले यसअघि बन्दाबन्दी खुलेसँगै आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो ।
“हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौँ, तर अहिले फेरि सङ्क्रमण बढिरहेको छ । त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ”, उनले भने ।
त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने भएको छ ।
परीक्षा नियन्त्रक जोशीले अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको जानकारी दिँदै कस्तो अवस्थामा परीक्षा गर्ने नगर्ने भन्ने जिम्मा डीन कार्यालयलाई दिएके बताए । सामान्य अवस्था भए पनि डीन कार्यालयले नै परीक्षाको तयारी गर्ने बताइएको छ ।
भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि विद्यार्थी काठमाडौं आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो । तर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरेको छ ।
यसै क्रममा पनिकाले बन्दाबन्दीयता २८ वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । बन्दाबन्दी समयमा १६ र साउन ७ यता १२ वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरिएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए ।
पनिकाले बन्दाबन्दीमा प्राध्यापकलाई कार्यालय बोलाई उत्तरपुस्तिका परीक्षण गरी वैशाख १८ गतेदेखि नतिजा प्रकाशन गर्न थालेको हो । उनका अनुसार अब बन्दाबन्दी अगाडि परीक्षा भएका आठ परीक्षाका परीक्षाफल मात्र प्रकाशन बाँकी छ ।
प्रतिक्रिया