नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल

नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल


अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आकस्मिक कक्ष बन्द (सिल) गरिएको छ ।

भरतपुर अस्पतालद्वारा जारी सूचनामा अर्को जानकारी नगराइएसम्मका लागि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जनाइएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार (२९ साउन) गरिएको परीक्षणमा अस्पतालको सोही कक्षमा कार्यरत २५ वर्षीया नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नर्समा सङ्क्रमण देखिएपछि सो कक्ष सिल गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।

डा. तिवारीले भनेका छन्, “इमर्जेन्सीमा कार्यरत नर्समा सङ्क्रमण देखिएकाले त्यहाँ रहेका बिरामीलाई अन्यत्र सारेका छौँ, इमर्जेन्सी कक्ष सिल गरेका छौँ ।”

भरतपुरको प्रयोगशालामा बिहीबार परीक्षण गरिएकामध्ये १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये १५ जनाको स्वाब भरतपुर अस्पतालबाट र एक जनाको पुरानो मेडिकल कलेजबाट लिइएको हो । सङ्क्रमण पुष्टि हुनेमा प्रहरीका थुनुवा, एक होटलका कर्मचारी, अस्पतालमा शल्यक्रिया गर्न तयारी गरिएका बिरामीलगायत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।