नेपालमा आइतबार (३२ साउन) ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको र हाल क्वारेन्टिनमा १५ हजार २ सय ४३ जना रहेका प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा १३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ३ सय ३५ पुगेको छ।
यस्तै, आइतबार काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यसैगरी, समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित भएका पुष्टि गरिएको छ । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित हुनेमा १९ जना महिला रहेका बताइएको छ ।
सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का ६–६ जना , विराटनगर २ र ५ का चार–चार जना, विराटनगर ४ का तीन जना र विराटनगर ८ का एक जना रहेका छन् ।
प्रतिक्रिया