नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर समेत गरेको’ अभियोगमा नेपाली सेनाका सहायक रथी प्रयोग ज।ब।रा।, महासेनानी नवीन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गरिएको छ ।
आइतबार (३२ साउन)बसेको समरी जनरल सैनिक अदालतले सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएका उल्लिखित सैनिक अधिकारीहरुलाई सेवाबाट हटाउने फैसला गरेको नेपाली सेनाले जनाएको छ ।
बताइएअनुसार उक्त अदालतबाट सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त)लाई सफाई दिने गरी फैसला भएको छ ।
आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता नीतिअनुरुप स्वच्छ संगठन निर्माण एवम् सुदृढिकरणको कार्यमा नेपाली सेना प्रतिबद्ध रहेको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया