विवाह गर्ने आश्वासन दिएर महिलासँग ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ

विवाह गर्ने आश्वासन दिएर महिलासँग ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ


प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद रु दुई लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज बुझाउन पऱ्यो भनी उक्त रकम ठगी गर्ने विदेशी नागरिक कोस्टालाई गत शुक्रबार सोल्टी होटलबाट पक्राउ गरिएको महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

पक्राउ परेका कोस्टाले भन्सार छुटाउनका लागि आवश्यक पीडित महिलासँग थप रु २० लाख मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हो”, प्रवक्ता कार्कीले भन्नुभयो । पक्राउ व्यक्तिले सोहीदिन अर्की युवतीबाट पनि रु ३७ हजार ठगी गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेकै दिन प्रहरीले कोष्टाको ठमेलस्थित कोठामा समेत खानतलासी गरेको छ । खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत प्रहरीले बरामद गरेको प्रवक्ता कार्कीले बताउनुभयो । पक्राउ व्यक्ति विसं २०७६ फागुनमा नेपाल आएको प्रहरीले जनाएको छ ।

पक्राउ व्यक्तिसँग नेपाली रु तीन लाख १५ हजार ७४५, अमेरिकन डलर ९००, एटिएम कार्ड, ल्यापटप एक थान, नेपाली एक हजारका नक्कली नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । प

पक्राउ व्यक्तिलाई जिल्ला अदालतको पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।