प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोग लगायत रिक्त पदमा नियुक्ति गर्ने सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहअध्यक्ष ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासंँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संवैधानिक आयोग र विश्वविद्यालयमा रिक्त पदको नियुक्ति, कोरोना भाइरस (कोभिड–१९) र बाढीपहिरोलगायत समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।
संवैधानिक आयोगका रिक्त पदमा समझदारीअनुसार चाँडै नियुक्त गर्ने विषयमा सहमति भएको छलफलमा सहभागी नेकपाका नेता सुवास नेम्वाङले जानकारी दिए । विभिन्न संवैधानिक आयोगका पद रिक्त रहेका छन्, रिक्त पद खाली राख्नु हुँदैन भन्नेबार नेताहरुबीच छलफल भएको नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले बताए । रिक्त पदमा चाँडै आपसी समझदारीअनुसार नियुक्ति गरेर पूर्णता दिने विषयमा छलफल भएको उनको भनाई छ । चाँडै ती रिक्त पदमा पदपूर्ति हुने उनले जानकारी दिए ।
अहिले अख्तियार दुरुपयोग अनुसन्धान, निर्वाचन, महिला, थारु आयोगलगायत अधिकांश आयोगमा पदाधिकारी रिक्त छन् ।
बताइएअनुसार नेताहरुबीच विभिन्न विश्वविद्यालयमा रिक्त पदमा नियुक्ति तथा ती विश्वविद्यालयमा भइरहेको तालाबन्दी र आन्दोलनबारे पनि छलफल भएको छ ।
कांग्रेस सभापति देउवाले सार्वजनिक जरुरी महत्वका विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका जनाइएको छ । सभापति देउवाले सिन्धुपाल्चोकको लिदीमा पहिरो जानु १० दिनअघि स्थानीयवासीले गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुऱ्याएको भनी आलोचना गर्दै सोको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन भनी प्रश्न गरेका कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया