एसईई परीक्षाको नतिजा प्रकाशित

एसईई परीक्षाको नतिजा प्रकाशित


राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सोमबार (१ भदौ) साँझ सार्वजनिक गरेको छ ।

परीक्षाका लागि चार लाख ८२ हजार ९८६ विद्यार्थीले फाराम भरे पनि चार लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिएका छन् ।

उनका अनुसार परीक्षाका लागि फाराम भरेकामध्ये १० हजार ९०८ विद्यार्थीको नियमानुसार हाजिरी नपुगेको, फाराम भर्दा त्रुटि भएको र नियम पूरा नगरी अयोग्य भएकाले नतिजा आएको छैन ।

एसईईको नतिजा सार्वजनिक गरिए पनि बोर्डले कति विद्यार्थीले कुन जिपिए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । उक्त विवरण विद्यार्थीले विभिन्न वेबसाइट र एसएमएसबाट थाहा पाउन सक्ने व्यवस्था गरिएको छ ।

यस वर्षको नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुनःयोग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पूरक ग्रेडवृद्धि परीक्षा सञ्चालनसम्बन्धी कार्य भने नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिनभित्र जिल्लास्थित शिक्षा तथा समन्वय एकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको बताइएको छ ।

गत चैत ६ गतेदेखि सञ्चालन गर्ने गरी तय गरिएको परीक्षा कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण अन्तिम समयमा आएर सरकारले स्थगन गरेपछि कक्षा १० को परीक्षामा आएको नतिजा र विद्यालयको समितिले गरेको मूल्याङ्कनका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षताको तीन सदस्यीय मूल्याङ्कन समितिले गर्ने आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले आआफ्ना विद्यालयका कक्षा १० का विद्यार्थीको नतिजा तयार पारेर बोर्डमा पठाएका थिए । सोही अधारमा बोर्डले अक्षराङ्कनमा बदलेर प्रमाणीकरण गरी अन्तिम नतिजा तयार पारेर सार्वजनिक गरिएको बताइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले करिव एक साताअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको र सोही आधारमा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग सहमति लिएर नतिजा सार्वजनिक गरेको हो ।

परीक्षाफल प्रकाशन भए पनि यही भदौ १५ गतेसम्म विद्यार्थी भर्ना गर्न भने नपाइने भएको छ । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय एकाइले कारबाही गरिने बताएको छ ।

शिक्षा ऐनको आठौँ संशोधनले संरचना परिवर्तन गरेसँगै विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुने र कक्षा १० लाई प्रदेशस्तरमा सञ्चालन गर्ने व्यवस्था भए पनि अझै लागू भएको छैन । बोर्डका अनुसार नेपाल टेलिकम र एनसेलका नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउने व्यवस्था गरेको छ ।