विश्वव्यापी महामारीको रुप लिइरहेको कोभिड १९ को संक्रमण पछिल्लो चरणमा नेपालमा पनि थप त्रास जगाउँदै बढिरहेको छ । यसक्रममा कोरोना संक्रमणकै कारण ज्यान गुमाउने नेपालीको संख्या १०९ पुगेको छ ।
सोमबार राति नेपालगन्जमा एक पुरुषको मृत्यु भएपछि मृतक संख्या १०९ पुगेको हो । नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ निवासी ६२ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ।
बताइएअनुसार साउन ३० गते लक्षणसहितको ज्वरो आएपछि त्यसको दुई दिनपछि ती पुुरुषलाई अस्पताल भर्ना गरिएको थियो भने उनको सोमबार मात्रै पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । यसबारे स्वास्थ्य मन्त्रालयले आधिकारिक जानकारी दिन बाँकी छ ।
६२ वर्षीय मृतक पुरुषको फोक्सोमा निमोनिया देखिएको र पछिल्लो चरणमा तीव्रतर ढंगले उनको स्वास्थ्य स्थिति बिग्रँदै गई अन्ततः मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । योसहित बाँकेमा मात्रै चार जना कोरोना पोजेटिभको मृत्यु भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार रौतहटका ३२ वर्षीय पुरुष, काठमाडौंका ५८ वर्षीय महिला र मोरङका ६० वर्षीय पुरुषको मृत्यु भएको थियो । नेपालगञ्जका मृतक पुरुषसहित अब मृतक संख्या १०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार यतिबेला देशभरमा ११३ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा एक, प्रदेश २ मा ४१, वाग्मती प्रदेशमा ५९, गण्डकी प्रदेशमा एक र प्रदेश ५ मा ११ जना आइसियुमा रहेका छन् । वाग्मती प्रदेशमा ६ जना सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् ।
यस्तै, वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना संक्रमित भएका छन् । कीटजन्य रोग अनुसन्धान केन्द्रमा गत शुक्रबार सङ्कलन गरिएकोे उनको स्वाब परीक्षणको सोमबारको रिपोर्ट पोजेटिभ देखिएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले जनाएका छन् । यतिबेला उनी हेटाँैंडास्थित आफ्नै निवासमा सेल्फ आइसोलेशनमा बसेका छन् ।
प्रतिक्रिया