नेपाली कांग्रेस नवलपरासी जिल्ला उपसभापति सुवासचन्द्र गिरीको उपचारका क्रममा निधन भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा उपचार गराइरहेका गिरीको मंगलबार (२ भदौ) बिहान निधन भएको हो । गत साउन २८ गते भैरहवाको अस्पताल शैय्याबाट आफ्नो फेसबुक वालमा लेख्दै आफूलाई कोरोना पोजेटिभ देखिएकोले सम्पर्कमा आएका सबैलाई होम कोरेन्टिनमा बस्न उनले आग्रह गरेका थिए ।
नेपाली काङ्ग्रेस पश्चिमनवलपरासीका जिल्ला उपसभापति गिरी मेडिकल कलेज भैरहवामा पित्तथैलीमा रहेको स्टोनको अपरेशन गराउन गएका बताइएको छ । पित्तथैलीमा रहेको स्टोनको अपरेशन गराएर अस्पतालमै बसेका गिरीको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको र श्वासप्रश्वसमा समेत केही समस्या देखिएपछि उनलाई लगत्तै बुटवलको कोरोना अस्पतालमा रिफर गरिएको थियो ।
कोरोनाको सङ्क्रमणसँगै निमोनियाको लक्षणसमेत देखिएको भन्दै परिवारजन आत्तिएर गिरीलाई ललितपुरको पाटन अस्पतालमा उपचारका लागि लगिएको थियो ।
दिवंगत गिरीको निधनपछि नेपाली काङ्ग्रेस पश्चिमनवलपरासीका सभापति विष्णुप्रसाद पौडेलले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छ्न् । गिरीको शवलाई मंगलबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।
प्रतिक्रिया