मुलुकभर कोरोना सङ्क्रमण बढ्दै गर्दा काठमाडौं उपत्यकामा पनि अत्यास लाग्ने गरी संक्रमितको संख्या बढिरहेको छ । यसबाट हुने जोखिम रोक्ने उद्देश्यले प्रशासनले यसअघि भएका निर्णय र लागू गरिएको स्वास्थ्य मापदण्डको कार्यान्वयनमा कडाइ गर्ने भएको छ ।
संक्रमण रोक्नका लागि आवश्यक निर्णय गर्न उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखले छलफल जारी राखेका छन् । छलफलको निरन्तराताकै बीच भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आगामी दिनमा कसरी जाने भन्नेमा छलफल जारी रहेको र यसअघि गरेका निर्णयलाई कडाइ गर्ने निचोडमा आफूहरु पुगेको बताउनुभएको छ ।
कतिपय सञ्चारमाध्यममा निषेधाज्ञा जारी गर्ने तयारी गरेका समाचार बाहिर आइरहेका बेला प्रजिअ पाण्डेले निशेधाज्ञा भन्ने शब्द नभई निषेध गर्ने कुरा रहेको प्रष्ट्याउँदैअब प्रशासनले कडाइ गर्ने तयारी भने गरेको उल्लेख गर्नुभयो ।
यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि अहिले छलफलकै क्रम रहेको जानकारी दिँदै कोभिड–१९ को सङ्क्रमण कसरी रोक्न सकिन्छ भन्ने विषयमा निष्कर्षमा पुग्न बाँकी रहेको बताउनुभयो ।
ज्ञातव्य छ, यसअघि काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा स्थगन गरेका थिए ।
गत साउन ३० गते तीनवटै प्रशासन कार्यालयले कोरोना सङ्क्रमण बढ्दै जाँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउन विभिन्न निशेषको आदेश समेत जारी गरेको थियो । भदौ १५ गते राति १२ बजेसम्मका लागि काठमाडौं जिल्लाभर लागू हुने गरी खुला स्थानमा मानिस भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्व सञ्चालन गर्न, दैनिक हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक गतिविधि, उद्योग व्यापार व्यवसायअन्तर्गत स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप गर्न निशेष गरिएको थियो ।
यस्तै चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघट, शैक्षिक संस्था सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुती, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना सञ्चालन गर्न पनि निषेध गरिएको थियो ।
यसैगरी, फुटपाथ, खुला ठाउँ र ठेला गाडा साइकल सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी सङ्कलन गर्न, उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसारपसार गर्न, टेक वे बाहेक होटल रेष्टुराँ सञ्चालन गर्न निषेध गरिएको आदेशमा उल्लेख छ । तर, आदेश जारी गरिए पनि उपत्यकामा भीडभाड रोकिएको छैन भने जोखिम बढ्दो छ । यस अवस्थालाई मध्यनजर गर्दै उपत्यकामा कडाइ गर्ने तयारी गरिएको हो ।
प्रतिक्रिया