विपदमा मृत्यु भएका परिवारलाई तत्काल दुई लाख प्रदान गरिने

विपदमा मृत्यु भएका परिवारलाई तत्काल दुई लाख प्रदान गरिने


नेपाल सरकार मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुने व्यक्तिको परिवारलाई तत्कालै नगद दुई लाख राहत दिने निर्णय गरेको छ ।

विपद्को घटनामा परी कुनै परिवारमा एक जनाको मृत्यु भएमा दुई लाख र सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

यसैगरी, विपदबाट घर, आवास नष्ट भएमा वा खाद्यान्न बाली तथा जग्गा जमिन, पसल व्यवसाय नोक्सान भएमा पनि पीडित परिवारले नगद राहत पाउनेछन् । त्यस्तो अवस्थामा पाँच जनासम्म सदस्य भएका परिवारलाई तत्काल रु १५ हजार र बढी भएमा रु २० हजार दिइने छ । विपद्का घटनामा परी खाद्यान्न तथा हाल बसोबास गरिरहेको घर पूर्ण रुपमा नष्ट भएमा वा घर नष्ट नभए पनि जोखिम रहेमा सुरक्षित स्थानमा घर निर्माण गर्न सरकारले तत्काल एक लाख सहायता दिने खतिवडाले बताए ।

सरकारले घाइतेलाई सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च र अस्पतालबाट घर जान प्रतिव्यक्ति एक हजार यातायात खर्च दिने निर्णय पनि गरेको छ । क्षति भएको घर पुनःनिर्माणका लागि जिल्ला वन कार्यालयमार्फत सहुलियत दरमा काठ दिने निर्णय भएको छ ।

यस्तै, मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णयमा विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको शेयर खरिद गर्न स्वीकृति दिइएको छ भने सासेक–विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाका लागि एशियाली विकास बैंकबाट अमेरिकी डलर २०० मिलियन (करिब रु २३ अर्ब ८८ करोड) बराबरको सहुलियतपूर्ण ऋण र नर्बे सरकारको तर्फबाट प्राप्त हुने अमेरिकी डलर ३५ मिलियन (करिब रु चार अर्ब १८ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री खतिवडाले जानकारी दिएका छन् ।

बैठकले पूर्वाञ्चल विश्वविद्यालय (स्कुल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी) विराटनगरलाई बि.ई, इलेक्ट्रिकलमा विद्यार्थी सङ्ख्या–४८ जना सहितको नयाँ थप कार्यक्रम र मदन भण्डारी स्मृति प्रतिष्ठान, उर्लाबारी, मोरङलाई ब्याच्लर अफ आर्किटेक्चरमा विद्यार्थी सङ्ख्या–४८ जना सहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने निर्णय पनि गर्ेको छ ।