निगमको काठमाडौं-दुबइ रद्द उडान आइतबार हुने

निगमको काठमाडौं-दुबइ रद्द उडान आइतबार हुने


नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौं–दुबइका लागि रद्द उडान भदौ ७ गते आइतबार (२३ अगष्ट)मा सञ्चालन गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुबइबाट काठमाडौंका लागि टिकट लिइसकेका यात्रुका लागि उडान सञ्चालन गरिने निगमले विज्ञप्तिमार्फत जनाएको हो ।

उक्त उडानमा कोभिड–१९ नेगेटिभ रिपोर्टसहित यात्रा गर्न पनि निगमले अनुरोध गरेको छ ।

निगमको उडान तालिका अनुसार बिहान ७ः३० बजे काठमाडौंबाट दुबइ जाने जहाज सोही दिन दिउँसो ४ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

ज्ञात रहोस् निगमको गत १८ अगष्टका लागि दुबइबाट काठमाडौंका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौंमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो । काठमाडौंबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइड बडी जहाज दुबइबाट रित्तै फर्किएको थियो ।