संक्रमित भेटिएपछि सर्वसाधारणको आवागमन चेकजाँचमा थप कडाइ

संक्रमित भेटिएपछि सर्वसाधारणको आवागमन चेकजाँचमा थप कडाइ


विकास रौनियार, धादिङ

समुदाय स्तरमा कोरोना संक्रमण रोक्न सचेत गराउँदै धादिङ प्रहरीले सर्वसाधारणको आवागमन चेकजाँचमा कडाइ गरेको छ ।

धादिङ प्रहरीले मास्क प्रयोग नगर्नेलाई र विनाकाम निस्फिक्री मोटरसाइकल कुदाउने एक सय पचास जनालाई सचेत गराएको छ ।

कोभिड–१९ को जोखिम र धादिङ जिल्लामा निशेधाज्ञा कायमै रहेको बेला बिनाकाम हिँडडुल गर्नेलाई प्रहरीले कारवाहीसँगै सचेतना दिन थालेको हो ।

कोभिड–१९ का संक्रमित दिन–प्रतिदिन बढिरहेको अवस्थामा घरबाहिर हिँड्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिए पनि अटेर गर्नेलाई प्रहरीले कारवाहीसँगै सचेतना प्रदान गर्न थालेको हो ।

घरबाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाई हिँडडुल गरेको साथै सामाजिक तथा भौतिक दूरी कायम नगरिएको भेटिएमा संक्रामक रोग ऐन २०२० अन्तर्गत कारवाही गर्ने इलाका प्रहरी कार्यालय गजुरीका कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताए ।

उनका अनुसार बिनाकाम मोटरसाइकल कुदाउँनेहरुलाइ एक‌ घण्टा होल्ड गराएर सम्झाइबुझाइ छाड्ने गरिएको छ ।

सम्भावित संक्रमण बाट बच्न अनि सरकारले जारी गरेका सूचनाहरुमा ध्यान दिई कोभिडविरुद्धको लडाइँमा अनुशासित बनि संक्रमणसँग जोगिने उपायहरु अवलम्बन गर्नका लागि पनि डिएस्पी खड्काले आग्रह गरे ।

यसैक्रममा आइतबार गजुरी गाउँपालिका वडा नं. २ मा २० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै मलेखु बजारदेखि बिहानी पम्प र चालिसे आदमघाटलगायत गजुरी एरियामा कडाइ गरिएको छ । हाइवे र टायर पसल ग्यारेजमा कडा निगरानी र अत्यावश्यक बाहेक सबै बन्द गरिएको छ ।