सङ्क्रमण भयावह हुँदै, ‘अजम्बरी डरपोक’हरू छिःछिः दूरदूर गर्दै !

सङ्क्रमण भयावह हुँदै, ‘अजम्बरी डरपोक’हरू छिःछिः दूरदूर गर्दै !


■ अनिलभक्त खरेल

संयुक्त राज्य अमेरिकामा गत फेब्रुअरी २९ तारिख शनिबार वासिङटन राज्यकी ५० वर्षीया महिलाको मृत्युसँगै कोरोना भाइरसबाट मर्नेहरूको संख्या गणना शुरु गरिएको हो । अमेरिकाको जनसंख्या करिव ३३ करोड १३ लाखमध्ये झण्डै ७ करोड ६९ लाख मानिसमा कोरोना जाँच गरेकोमा हालसम्म ५९ लाख ११ हजार संक्रमित र १ लाख ८१ हजारले ज्यान गुमाइसकेका छन् भने विश्वभरि २ करोड ३८ लाख संक्रमित भएकोमा ८ लाख १६ हजारले ज्यान गुमाइसकेका छन् । पछिल्लो अवस्थामा दैनिक २ लाखको हाराहारीमा संक्रमितको संख्या थपिँदो छ । पछिल्लो समयमा अमेरिकाको अलावा भारत, ब्राजिल, मेक्सिको, रसियालगायत एसियाली देशहरूमा बढी असर पारिरहेको छ ।

एक अर्ब ३८ करोड २० लाख जनसंख्या रहेको भारतमा दैनिक ७० हजारको हाराहारीमा संक्रमित देखिनु र झण्डै एक हजारको हाराहारीमा मानिसको मृत्यु हुनुले भारतका छिमेकी राष्ट्रहरू नेपाल, बंगलादेश, पाकिस्तान, भुटानका जनतालाई आतङ्कित बनाएको छ । बाक्लो जनघनत्व भएको भारतमा मात्र ३ करोड मानिसमा कोरोना जाँच गर्दा नै ३१ लाख संक्रमित देखिनुले भारतभरी कति कोरोना संक्रमित छन् यसै भन्न सकिन्न । भारतबाट फर्केका नागरिकमार्फत् कति कोरोना संक्रमित नेपाल भित्रिए भन्ने तथ्याङ्क सरकारसँग छैन । त्यसैले आगामी दिनमा नेपाललाई कोरोनाले कसरी गाँज्ने हो यसै भन्न सकिन्न ।

अमेरिका, इटली, बेलायत, स्पेनलगायतका देशहरूमा कोरोनाले महाआतङ्क मच्चाइरहेको बेलामा झण्डै दुई तिहाइ शक्ति भएको धर्मनिरपेक्ष सरकार तथा सरकारका अन्धसमर्थक पहुँचवालहरू ‘नेपाललाई श्रीपशुपतिनाले रक्षा गर्ने भएकाले यो रोगले नछुने, नेपाल कोरोनामुक्त, नेपाल ग्रीन जोनमा…’ भनेर पोष्ट गर्दै पिसाबको न्यानोमा आत्मरतीमै बसे । झण्डै ४ महिनाको लकडाउनको अवधिमा सांसद अपहरण, ओली–सरकार ढाल्ने र बचाउने लगायतका अनेक नौटङ्की मञ्चन गर्दै राजइका हर्ताकर्ताहरू रमाइरहे । कोरोना महामारी त नेपालका नेता र पहुँचवालालाई २०७२ सालको भुँइचालोको बेलामा जस्तै भ्रष्टाचार गर्ने सुनौलो अवसर मिल्यो । कोरोनारूपी महामारी दुई तिहाई सरकारलाई महादशैं बन्यो ।

जनतालाई ४ महिनासम्म घरमै ‘नजरबन्द’ गरेर कोरोनाको नाममा १० अर्बभन्दा ज्यादा रुपैयाँ भ्रष्टाचार गरियो । यस्तो भइराख्दा पनि ‘हनुमान’हरू तैँचुप मैचुपको अवस्थामा छन् । यो ४ महिनाको अवधिमा कोरोनाको लागि केही पनि तयारी गरिएको देखिएन । कोरोनाले हाल नेपालमा लगभग १६० जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै ३३ हजारको हाराहारीमा संक्रमित भेटिएका छन् । ५–६ महिनाको अवधिमा दुई तिहाईरुपी ‘निम्छरो’ सरकारले जनताको पक्षमा केही गरेको देखिएन, बरु कोरोनापीडितहरूले दुर्व्यवहार भोग्नुपरेको छ ।

कोरोना संक्रमण भएकाहरूलाई सामाजिक बहिष्कार, अछुतको व्यवहार गर्ने, हतोत्साही गर्ने, जस्ता कार्य हुँदा त्यस्तामाथि कुनै कार्वाही यो सरकारले गर्न सकेको छैन । रोग हो जसलाई पनि लाग्न सक्छ, रोग लाग्नेबित्तिकै मर्ने नै भन्ने होइन । तर, रोग लागेको मानिसलाई केही हुन्न भनेर उच्च मनोबल राख्न हौसला दिने हो कि छिःछिः र दूरदूर गर्ने हो ?! के यही यो गणतन्त्र र दुईतिहाइ सरकारले नागरिकलाई दिएको नैतिक शिक्षा ? खै ! अमेरिकामा दैनिक ६० हजार संक्रमितत हुन्छन् र पनि श्रीमतीको रिपोर्ट श्रीमानले र श्रीमानको रिपोर्ट श्रीमतीलाई सम्म पनि जानकारी दिइँदैन । खै कसैलाई छिःछिः र दूरदूर गरिएको पाइँदैन । नेपालमा त परिवारका सदस्यलाई भन्दा पहिला कोरोनाको रिपोर्ट छिमेकीकहाँ पुग्छ । मानौँ ती छिमेकी अर्कै घर्तीबाट आएका हुन्, उनीहरू अजम्बरी हुन् ! हुँदा–हुँदा अब त डाक्टर र नर्सहरूलाई पनि टोलनिषेध गर्न थालिएको छ । त्यस्ता ‘अजम्बरी डरपोक’हरू अस्पताल नभएका, भीडभाड नभएको दुर्गम भेगमा गएर बसे हुने नि अरुलाई सामाजिक बहिष्कार गर्नुभन्दा ।

नेपाल पर्यटन वर्ष २०२० को नारा दिएर अर्बौं भ्रष्टाचार गरिसकेको दुईतिहाईरूपी निम्छरो सरकारले २० लाख पर्यटक हैन कि कोरोना र सलहबाहेक केही भित्र्याउन नसकेपछि उसको लुब्धदृष्टि रोजगारीका निम्ति विवशताले बाहिरिएका नेपालीमाथि परेको छ । अहिले उ नेपाल आउन चाहने नेपालीबाट लुट्ने योजनामा छ । अब नेपाल फर्कन चाहनेले १५ दिनसम्म दैनिक ४ देखि ९ हजार खर्च गर्नुपर्ने नियम बनाएको छ । पछिल्लो समयमा चौतर्फी विरोध भएपछि कोरोना नलागेको पुष्टि भएमा त्यो खर्च गर्नु नपर्ने भनेर सच्च्याउने प्रयास गरिँदै छ । तर त्यत्रो हावाइजहाजमा कसैलाई पछि कोरोना लागेको पुष्टि भएमा के गर्ने… सरकार मौन छ । यो ५ महिनामा सरकारले के उपलब्धि गऱ्यो कसैले बताइदिए पङ्क्तिकार अभारी हुने थियो । त्यसैले भन्न मन लाग्यो– ‘लुट्न सके लुट दुई तिहाइको सरकार लुट्न सके लुट, नेपाल जस्तो संसारमा कहीँ छैन छुट !’

यति लेखियो अब नेताको मलद्वारलाई पनि हरिद्ववार देख्ने हनुमान र अरिँगालहरू ‘विदेशमा बसेर के लेख्छस्… लेख्ने भए नेपाल आइज’ भन्न शुरु गर्छन् होला, पहिला जस्तै । हनुमान र अरिँगालहरूलाई मेरो एउटै जवाफ छ– कालोलाई कालो र सेतोलाई सेतो देख्नुपर्छ, हरिद्वारलाई हरिद्वार र मलद्वारलाई मलद्वार नै भन्न सक्नुपर्छ चाहे विश्वको जुनसुकै कुनाकाप्चामा कोही किन नहोस् ! तिनीहरूमा चेतना रहोस्– आमाबाबुमा आफ्नो साथ रहेका भन्दा आफुदेखि टाढिएका सन्तानको चिन्ता र माया बढी भएजस्तै देशभित्र रहेका लुटेराभन्दा देशबाहिर टाढा धेरै टाढा भएका पङ्क्तिकार जस्तै ‘जन्मजात नेपाली’हरूलाई नै देशको माया बढी छ र हुन्छ । जसरी सुनिश्चित भविष्यको लागि शहर पस्न बाध्य भएकाहरूलाई आप्mनै जन्मगाउँ प्यारो लाग्छ । नलाग्दो हो त देश भुकम्पबाट ध्वस्त हुँदा विदेशिएकाहरूले नै आफ्नो गाँस काटेर देशलाई सहयोग गर्ने थिएनन् ।

नाकाबन्दीको बेलामा पनि विदेशिएकाहरूको खबरदारीले नै नाकाबन्दीबाट पछि हट्न सरोकारवालालाई बाध्य पारेको थियो । त्यसबेला नेपालमा बसेर नेपालको नागरिकता बोक्नेहरूले दाउरामा भात पकाएर खाने बाहेक के गरे ? बरु उल्टै भुकम्पको बेलमा संकलन भएको अर्बौं रकम ‘काले–काले मिलेर खाउ भाले’ शैलीमा झ्वाम पार्ने दुश्कर्म गरे ! ती स्वार्थीहरूलाई त आफ्नो मात्र चिन्ता छ कहाँबाट लुट्ने, कर्मचारी, पुलिस, आर्मी, शिक्षक, प्राध्यापकहरूलाई सरुवा र बढुवाको मात्र चिन्ता, व्यापारीहरूलाई करछलीको चिन्ता, नेतालाई मन्त्री, प्रधानमन्त्री बन्ने चिन्ता, उच्चतहमा पुगेकालाई भ्रष्टाचार गर्ने चिन्ता, पत्रपत्रिकालाई वर्गीकरणकै चिन्ता, पार्टीका कार्यकर्तालाई नेताको गुनगान गाउने र झारेर खाने चिन्ता, गरिव जनतालाई गाँस बासको चिन्ता… यस्तै–यस्तै त छ !

भनिन्छ नि देशको राजनीतिक दुर्गन्ध र बच्चाको डाइपर्ट बेलैमा बदल्नु जान्नुपर्छ । यदि बच्चाको डाइपर्ट बेलैमा बदल्न जानिएन भने बच्चा दुर्गन्धित हुन्छ, उसलाई घाउ खटिराले दुःख दिन्छ । हो त्यस्तैगरी देशको राजनीतिक दुर्गन्धलाई पनि बच्चाको डाइपर्ट जस्तै बेलैमा बदल्न जान्नुपर्छ । यदि बेलैमा बदल्न जानिएन भने टोल, समाज, गाउँ, क्षेत्र हुँदै सिङ्गो राष्ट्र नै दुर्गन्धित हुनेछ । त्यसैले देशबाट सर्वप्रथम दुर्गन्धित राजनीतिकलाई हटाऔँ त्यसपछि आधा समस्या आफै समाधान हुन्छ । कोरोनापीडितलाई छिःछिः र दूरदूर त्यही राजनीतिक दुर्गन्धको उदाहरण हो । देश हाँक्नेमा नै नैतिकता नभएपछि जनतालाई कसले नैतिकता सिकाउने ? चेतना भया ।
– अमेरिका भर्जिनिया