कस्तो होला भोलिको नेपाल ?

कस्तो होला भोलिको नेपाल ?


■ रसना ढकाल

‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे !’ स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेले कुनैबेला रचेको यो शब्द हाल आएर विस्तारै वास्तविकतामा परिणत होला जस्तो देखिँदै छ । मुलुकले समय–समयमा भोगेको प्राकृतिक र कृत्रिम घटनाहरूका कारण थिलो–थिलो भएको जनजीवनमा फेरि अचानक एक भाइरसको प्रवेशबाट जनजीवन अस्तव्यस्त हुन पुगेको छ ।

यसभन्दा अघि मानवबाट सिर्जित घटनाहरू जस्तै, १०वर्षे कथित जनयुद्ध र यसले निम्त्याएका दुष्परिणाम, नयाँ संविधान बनाउने क्रममा देशभरि नै देखिएका असन्तुष्टि र त्यसले निम्त्याएको परिणाम, मौसमी बाढी–पहिरो, २०७२ सालको विनाशकारी भुकम्प यस्ता विपदहरू नेपालीले झेल्दै आए । जसका घाउहरू अहिलेसम्म ताजा नै छन् । र, अन्ततः नेपालीको दुःख सधंैलाई नै हुने भयो । आफ्नो देशमा काम गरि खान पाउने वातावरण नदेखेपछि देशका लाखौँ जनशक्ति बाहिरिए । यी सबै घटनाक्रमबाट मुक्त हुन नेपालीले विदेशी भूमिलाई रोजे । परिणामतः वैदेशिक रोजगारको लागि विदेश जाने क्रम बढ्यो । देशको सृजनशील युवा जमात कुनै देशको राजदूतावास धाउनु र मेनवापर धाएर वैदेशिक रोजगारको लागि जानु एकातिर देशको लागि हानी नै थियो भने अर्कातिर रेमिटान्स आइरहेको भन्दै जसोतसो चित्त बुझाउने ठाउँ पनि थियो । यसले देशको आर्थिक पक्षलाइ धानेको थियो । व्यक्तिको जीवनस्तर पनि उठेको थियो । यो मूलुक रेमिटान्सले चलेको हो भनेर जनमानसमा छाप छोडेको थियो ।

प्राकृतिक रूपमा हुने विनाशसँग त हामी जुध्न सक्दैनौँ । पूर्वानुमान गरेर खोलानाला बस्ती बाटोघाटोलाई बचाउन पक्कै पनि सकिन्थ्यो होला तर त्यो पनि हामीले गरेनौँ । मुलुक सानो त्यसमाथि राजनीतिको गलत कृयाकलापका कारण सबैको दिमाग राजनीतिमा गाँजियो । यहाँ हुने सानोतिनो दुर्घटनादेखि लिएर ठुला विपदका सवालहरूमा राजनीतिलाई नै जोडियो । जसले गर्दा राजनीति शुद्ध कि अशुद्ध भन्ने तर्क साना बच्चाहरू समेतले गर्न लागे । यसरी राजनीतिको प्रभाव चारैतिर बढ्दै गयो । घर–परिवारमा हुने सानो झगडा समेतमा राजनीतिलाई दोष दिने प्रचलन बढ्दै गयो । घर–परिवारमा झगडा गरेर कोही जीवन सिध्याउनेतिर लाग्छन् भने त्यहाँ पनि राजनीतिलाई नै दोष दिइने प्रचलन बढ्यो ।

व्यक्तिको जीवनमा हुने सानो घटना व्यक्ति आफूले दोष नलिने उल्टै राजनीतिलाई दोष दिने गलत क्रियाकलाप बढे । अर्कातिर देशको मुहार फेर्न गएका जुनसुकै राजनीतिक दलको हालत आफूमुखी हुन गयो । हाम्रो दिनचर्या कुर्सी तानातानमै बित्यो । घरको झगडा झनै बल्झिँदै गयो । दल–दलमा कुरा नमिल्ने पक्षकोविरुद्धमा विपक्ष आउने, ठूलाबाट भ्रष्टाचार र जघन्य प्रकृतिका अपराधमा पीडकलाई बचाउने पीडितलाइ झनै पीडित बनाउने जस्ता चलखेल हाबी हुँदै गए । यसले समग्र शासन–सत्ताको न्यायप्रणालीमा धक्का पुग्यो र, सुशासनमाथि प्रश्नचिन्ह लाग्यो ? कहीँ कुनै पनि काम शुद्ध तवरले भएन, यहाँ प्रगति कस्तोको भयो भने जो दलको अघिपछि गरेको छ, मन्त्रीको अघि हात मुसारेको छ त्यस्ता व्यक्तिहरूको मात्र प्रगति भयो । तिनैले बाहिर शासन चलाउन थाले । गलतलाई गलत भन्ने आँट नै गर्न सकेनन् र गलत कुरामा पनि तर्क ल्याएर जित्न थाले ।

यसरी एकाग्र प्रणालीद्वारा समाजका इकाइहरू हिँड्न थालेपछि यस्तैको बोलबाला भयो, गरिब निमुखा झनै गरिबीको रेखामुनि रहन बाध्य भए । देश विकासको लागि टेवा पुराउने त्यस्ता व्यक्तिहरूको खोजी नै भएन । देशभित्र रहेका प्रतिभाहरू सधैं खुम्चिएर रहन बाध्य भए । राजनीतिक पहुँच जसको भयो उसैले अवसर पायो । त्यो अवसरको लायक व्यक्ति थियो या थिएन त्यसको मूल्यांकन गरिएन, केवल राजनीतिक पहुँचको मूल्यांकन गरियो । देश विकासका लागि आएका परियोजनाहरू पनि अधिकारमूखी भएनन् कल्याणकारी सोचमा नै सीमित भए । यी सबै बेथितिबाट गुज्रिरहेको मुलुकमा अलि–अलि विकासको आभास के हुन लागेको थियो यही बीचमा कोरोना भाइरस आइदियो । कोरोना भाइरसको कारण विश्वमा यावत उतारचढावका घटना भैरहँदा नेपालमा यसले महामारीको रूप लियो । र, वर्तमानमा यो सोचेको भन्दा माथि पुगेको छ ।

यसरी मुलुकको वर्तमान समय कोरोनाका कारण आक्रान्त छ । अहिले जनताको स्वास्थ्यभन्दा ठूलो कुरो अरु होइन भनेर सरकारले पनि बलबुताले काम गरिरहेको देखाउँदै छ । भाइरस रोकथाममा हरेक तर्फबाट सरकारले सोचिरहेको छ, तर पनि व्यक्ति एवम् समुदायमा भाइरसको संक्रमण झनै बढ्दो क्रममा रहेको छ । यो भाइरसलाई प्रकृति प्रकोप भन्ने कि कृत्रिम प्रकोप भन्ने हामी सबै अलमलमै छौँ ।

यही बीचमा राजनीतिमा पनि ठूलै भुइँचालो आयो । लिपुलेक र लिम्पियाधुराको नक्सा विवाददेखि सत्तारुढ दलभित्र नै एक आपसमा विचार नमिल्ने जस्ता परिवेशले माहामारीको अवस्थामा झन् भद्रगोल थपिदियो । जनतामा त्रास भैरहको यो अवस्थामा जनतालाई ध्यानमा राखेर काम गरिदिएको भए आज राजनीतिप्रति जनताको वितृष्णा बढ्दैन थियो होला । भाइरसको ताण्डव एकातिर राजनीतिक ताण्डव अर्कोतिर चलिरह्यो जो अहिलेसम्म पनि मत्थर भएको छैन । र पनि यो बीचमा नागरिक भाइरसबाट बच्नु आफै सजग हुनुबाहेक अरु विकल्प छैन । यो भाइरसबाट हामी आफै सुरक्षित र सजग हुनु अत्यावश्ययक छ, सरकारको भर परेर काम चल्नेवाला छैन ।

अब कुरा गरौँ भोलिको नेपालको बारेमा । कोरोना महामारीले उग्र रूप लिइरहँदा भोलिको नेपाल कस्तो हुने भन्नेतर्फ हामीले सोच्नुपर्छ । किनकि वर्तमान समयमा त हामी चलिरहेका छौँ, भविष्य देखेका छैनौँ, भूतकाल जे बित्यो बित्यो त्यो हाम्रो लागि शिक्षा दिएर गयो । यो तीन वटा परिस्थितिमा एकदमै महत्वपूर्ण परिस्थिति वर्तमान र भविष्य हो । यसमा व्यक्तिको भविष्यसँगै देशको भविष्य पनि जोडिएको हुन्छ । यो महामारी २०७२ सालको भूकम्पले निम्त्याएको चोट जस्तो होइन, किनकि त्यो विनाशकारी भूकम्पमा नेपाल मात्र हल्लिएको थियो तर यो भाइरसले त पूरै विश्व हल्लाइदिएको छ ।

यस्तोमा वैदेशिक रोजगारमा गएका व्यक्तिहरू स्वदेश फर्किने क्रम जारी छ । अब विदेशमा पनि काम गरेर खान पाइने अवस्था छैन । देशमा राजनीतिको कारण देखाउँदै विदेशिने युवा जमात अब फेरि विदेशको भूमिमा काम गर्न जान पाइन्छ भन्ने तर्क पनि गर्न चाहँदैनन् । विश्वको आर्थिक अवस्था खस्किएको छ । अब कसरी भोलिको दिनलाई सिँगार्ने हो सबैको लागि सोचुनीय विषय बनेको छ । वैदेशिक रोजगारबाट फर्किका युवामा खिन्नता छाएको छ । यहाँका ठुल्ठूला उद्योगधन्दा, कलकारखना, होटल रेष्टुरेण्ट बन्द भएका छन् । स्कुल कलेज सबै बन्द भएको ६ महिना भइसकेको छ । हरेक क्षेत्रलाई प्रभाव पारेको छ कोरोनाले । दैनिक ज्याला मजदूरी गरी खाने समूह भोकै सुत्नुपर्ने बाध्यता छ । २०७६ चैत्र ११ गते सरकारले गरेको बन्दाबन्दीको प्रभाव वर्तमानसम्म आएको छ । अहिले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । यस अवस्था पनि व्यक्तिहरूबाट अनुशासनहीन कामहरू भइरहेका छन् । भाइरसको संक्रमणबाट बच्न सरकारले गरेका कार्यहरूको विरोध गर्ने समुहहरू जन्मिरहेका छन् । कसैले एक अर्कालाइ न सकारात्मक ढंगबाट हेर्न सकेको छ न त सकारात्मक विचार नै दिन सकेको छ । राज्यको एक गल्तीको पर्खाइमा जनता छन् । राज्यले कहाँनिर गलत गर्छ र हामी विरोधमा उत्रिऔँ भनेर जनता तल्लिन भएका देखिन्छन् । यसता गलत मानसिक सोच हावी छ ।

अब यसबाट कसरी छुटकारा पाउने ? सधै अधिकारको विगुल बजाउँदै हिँड्ने हामी नेपालीले राष्ट्रप्रतिको कर्तव्य कहिले पूरा गर्ने ? सोचनीय विषय बनेको छ । यस्ता यावत सन्दर्भले भोलिको नेपाल कस्तो होला भन्ने विषद् सवाल पैदा गरिदिएको छ । अब हाथर्दिकताका साथ सबैले देशको लागि चिन्तन गरौँ, आफ्नो देश नभएको भए नेपालीको परिचय हुने थिएन भन्ने मनन गरौँ । गलत बाटोमा गइरहेको राजनीतिको शासनलाई लाइनमा ल्याउन सकारात्मक सहयोग गरौँ । देश विकासका लागि खर्च हुनुपर्ने समय व्यर्थमा गइरहेको छ । मुलुक तीन तहको सरकारमा छ । यो तीन तहको सरकारमा कुन सरकारको कति जिम्मेवारी र भूमिका रहेछ यो समयमा हामीले देखेका छौँ । जो सरकार भूमिकाहीन छ त्यसलाइ खारेज गरौँ । त्यहाँ लाग्ने लगानी देशका युवा जनशक्तिमा खर्च गरौँ । कृषिप्रधान देश भनेर चिनिने नेपालको भूमिमा नयाँ–नयाँ प्रविधिको प्रयोग गरौँ । कृषि देशको पहिचान हो यसलाइ निरन्ता दिऔँ । स्थानीय स्तरमा नै रोजगारीका योजनाहरू ल्याऔँ । वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वदेशमै सदुपयोग गरौँ । दलवादी सोच होइन विकासवादी सोचले अघि बढौँ । अनि मात्र भोलिको नेपाल समृद्ध हुनेमा विश्वस्त हुन सकिने छ ।