बिचौलियाले भारतीय केरालाई पश्रय दिँदा नवलपरासीका कृषक मारमा

बिचौलियाले भारतीय केरालाई पश्रय दिँदा नवलपरासीका कृषक मारमा



आरपी उपाध्याय,
नवलपरासी

भारतबाट अनियन्त्रित रुपमा केराको आयात गरिएको कारण नवलपरासीका केरा उत्पादक किसानहरु मारमा परेका छन् ।

उखु खेती गरेर समयमै भुक्तानी र सुविधा पाउनबाट वञ्चित भएका पश्चिम नवलपरासीका किसानहरु पछिल्ला केही वर्षदेखि केरा खेतीतर्फ आकर्षित हुँदै आएको अवस्था छ । तर, अनियन्त्रितरुपमा भारतबाट नेपाल भित्रिएका केराका कारण नेपाली केराले बजार पाउन नसकेको नवलपरासी केरा उत्पादक किसानहरुको गुनासो छ ।

अहिले कोरोना भाइरसको महामारीले गर्दा लकडाउन र निषेधाज्ञाको समयमा पनि भारतबाट अवैध रुपमा केरा नेपाल आउने क्रम नरोकिएपछि नेपाली केरा उत्पादक किसानहरु मर्कामा परेका छन् । केही सरकारी अधिकारी एवं केराका बिचौलियाको चलखेलले गर्दा पछिल्लो समयमा नवलपरासीमा उत्पादन भएका केरा गण्डकी प्रदेशको पोखरा प्रवेशमा रोक लगाइएको थियो भने भारतीय केरा काठमाडौं लगी केही बिचौलियाहरुको मिलेमतोमा कागजी प्रक्रिया मिलाइ बजारमा पुऱ्याइएको नवलपरासी केरा उत्पादक किसान सुस्ता ५ का केपी थापाको आरोप छ ।

यस क्षेत्रमा उत्पादन भएको ६० प्रतिशत केरा गण्डकी प्रदेशको पोखरा बजारमा जाने गरेको बताइन्छ । लोजिनाइ, नन्दन, रावेस्टा नामक प्रजातिका केरा खेती नवलपरासीको दक्षिणी क्षेत्रका किसानहरुले गर्दै आएका छन् ।

पश्चिम नवलपरासीको ठुलो खैरेटहवा, सोमनी, जमुनिया, खैरहनी, प्रतापपुर, सुर्यपुरा, बैदौली, श्रीरामपुर, बधरिधात पीपरपाती, बलुवा टोला पकलिहवा, नर्सही, कुडिया, रुपौलिया, त्रिवेणीको बनकटटी, रेवा, जीतपुरगढी, रानीनगरलगायत क्षेत्रमा पछिल्लो समयमा केरा खेतीले ब्यापकता पाउँदै गएको सम्बद्ध किसानहरुले जानकारी दिएका छन् । उखु खेतीको तुलनामा केराखेतीबाट आकर्षक मूल्य र कम लगानीमाप्रतिफल प्राप्त हुने गरेकोले यसतर्फ किसानहरुको आकर्षण बढेको बुझिन्छ ।