दुई तिहाइका ‘श्री ३’हरू अनि निरीह शाही सेना !

दुई तिहाइका ‘श्री ३’हरू अनि निरीह शाही सेना !


■ रमेशराज बास्तोला (लिजवन पोर्चुगल)

विद्यालय तहदेखि नै हामीले पढेका थियौँ– १०३ वर्षीय जहानियाँ राणा शासन क्रुर थियो । कसैले केही बनाए या राम्रो काम गरे हात काटिदिन्थ्यो । उनीहरूको चाकरी–सुसार गरे राज्यका विभिन्न पद पाइन्थ्यो । त्यतिबेलाका श्री ३ राणाहरूले बोलेको भरमा हरेक कुरा हुन्थ्यो ।

हामीले पढ्दा उनीहरूले गरेका राम्रो कामभन्दा नराम्रो कुरा पढ्यौँ र पछिसम्म त्यही छाप पऱ्यो, राणा भन्नेवित्तिकै यिनीहरू क्रुर नै हुन् भन्ने ! तर पछि बुझ्दै जाँदा राणाहरूले धेरै विकास गरेका रहेछन् । विदेश भ्रमण जान्थे तर त्यहाँ के–कस्तो छ अवलोकन गरेर नेपालमा त्यस्तै बनाउन लगाउँथे । तर कक्षा ७–८ को इतिहासमा पढेजस्तो राणाहरू क्रुर मात्र नभइ समाजसुधारक पनि थिए । सतीप्रथा त्रिचन्द्र कलेज मात्र नभएर मठ–मन्दिर, प्रशासनिक भवन, बाटोघाटो पनि बनाए र विदेशीसँग कहिल्यै हात थापेनन् । देशभित्र निरङ्कुश भए पनि देशबाहिर राष्ट्रलाई शक्तिसाली नै राखे ।

तर हामीले पढ्दै आएको श्री ३ हरू र तिनीहरूको शासन–शैली जे पढियो त्योभन्दा बढि अहिले आफैंले देखेका छौँ । राजाको छत्रछायामा रहेर संसारकै एक हिन्दुराष्ट्र रहेको हाम्रो दशस शान्ति र सहिष्णुताको देश थियो । तर गणतन्त्र ल्याएर नव ‘श्री ३’ हुनेहरूले देशको परिचय पनि मेटे अनि देशलाई उँधोगतिमा धकेलेर विदेशीको टाङमुनि पनि पुऱ्याए, अझ तिनीहरू आफूलाई श्री ३ भन्दा कम सोचेका हुँदैनन् । दुई तिहाईका प्रमुख ‘श्री ३’ले तोक आदेश ल्याउनुहुन्छ दल फुटाउन, यति भए हुन्छ । संवैधानिक नियुक्ति आफैं मात्र गर्ने हो, अनि सहायक श्री ३ भारदारहरूले हस् जो आज्ञा भनेर आज्ञा शिरोपर गर्दछन् ।

अनि पत्रपत्रिकामा प्रमुख श्री ३ को जय–जयकार गाउनेहरूलाई प्रमुख श्री ३ ले हुँदै नभएको रेलमा अनि लगानी बोर्डमा अनि २–४ शब्द लेखेर जयजयकार गरेकै भरमा प्रेस काउन्सिलमा नियुक्ति दिनुहुन्छ । यहाँ नियमकानुन केही हुँदैन दुई तिहाईको श्री ३ बोलिदिए भयो ।

उता ‘सहायक श्री ३’हरू अष्ट्रेलियामा डढेलो लगेर आक्रान्त भएको छ । उहाँ पूरा राजर्षी छाँटकाँटमा नेपालको पर्यटन प्रवर्द्धन गर्न जानुहुन्छ अनि श्री ३ गर्जनु हुन्छ– अष्ट्रेलियामा पर्यटन प्रवर्द्धन भव्य भयो । कोरोनाले संसार आक्रान्त छ सहायक श्री ३ भारदारले नेपाल कोनोरा सेफ जोन हो, पर्यटक ल्याउनुहोस् भनेर तोक आदेश दिनुहुन्छ । अब त कोरोना महामारी शुरु भयो, सहायक श्री ३ का दिन खुले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका श्री ३ ले आफ्नो तोक आदेशमा केही कम्पनीलाई तोक आदेशमा चार्टर फ्लाइट अनुमति दिनुभयो । तीन गुना चार गुना जति पैसा लागे पनि श्री ३ को आदेशपछि न कोही बोले न कोही कहीँ उजुरबाजुर गऱ्यो आदेश भएपछि भयो !

ऊता चाइनाबाट सामान ल्याऊन पऱ्यो अब स्वस्थ्य मन्त्रालयका श्री ३ रक्षा मन्त्रालयका श्री ३ हरूले जगै हँसाए, तर श्री ३ परे उनको आदेश मान्नैपऱ्यो । करोडौँ घोटला भयो तर श्री ३ का भाइ–भारदारले गरेको कुरामा कसले के बोल्ने !

केही समयअगाडि आफ्नो देश फर्कन दुबई एअरपोर्टमा नेपाली दाजुभाइ आए यहाँ नेपालका श्री ३ हरू ले नै पैसा लिएर उद्दार गर्ने भनेर आदेश गरे, सोही आदेशलाई सिरोधार्य गरेर सयकडा २ मा ऋण काडेर उनीहरू नेपाल जान एयरपोर्ट आए, यता रक्षा मन्त्रालय र पर्यटन मन्त्रालका श्री ३ हरूको ठाडो आदेशमा.. ‘ल आउन बन्द’ भनिदिए ।

गएको जहाज रित्तै फर्कियो । अलपत्र नेपाली महाअलपत्रमा परे । अब आफैं सोचौँ एक राष्ट्रको जहाज रित्तै आयो दोस्रो अलपत्र परेका नेपाली एअरपोर्टमा आएर ठाडो आदेशको मारमा परे एअरपोर्ट आएको नेपाली जो आफ्नो कोठाको चाबी बुझाएर लत्ताकपडाहरू फालेर राशनहरू साथीभाइलाई दिएर एकसरो कपडा र एउटा झोला लिएर आएको ती नेपालीहरूलाई सेकेण्ड अगाडिको एक निर्णय सेकेण्ड पछाडि कार्यान्वयन गर्दै जहाज फेऱ्यो, विचल्लीमा पनि महाबिचल्लीमा परे नेपाली । यो देख्दा त ती जहानियाँ राणा श्री ३ शासकभन्दा अहिलेका दुई तिहाईका श्री ३ हरू क्रुर देखिए । स्कुलमा जहानियाँ शासकको बारे पढेका थियौँ त्योभन्दा बढि दुई तिहाईका श्री ३ हरूले यही देखाइदिए । गृहमन्त्रालयका श्री ३ ले एक पुजारी हत्याका हत्यारालाई संरक्षणको लागि लिखित आदेशपत्र नै दिएका छन् । प्रमुख श्री ३ ले जुम्लामा जनताको निःशुल्क सेवा गर्ने डाक्टरलाई सुरक्षाकर्मी लगाएर होटलमा नै नजरबन्द गर्दै छन् ।

रक्षामन्त्रालयका श्री ३ ले सेनालाई नै लकिरका फकिर भन्दै उडाएका छन् । उनकै पछाडि सेनाका अधिकृत छन् उनले सुनेर बस्न र सहन सकेका छन् । २०६२–०६३ अगाडिको शाही सेनालाई ‘गणे सेना’ बनाइयो जसरी बहरलाई लगेर दाएपछि गोरु बनाइन्छ सेनालाई त्यही बनाइयो, सेना निरीह छ । यता दुई तिहाईको श्री ३ हरूले भाइभारदार, नाती, सम्धी, ससुरा, भान्जा–भान्जी, साला–सालीलाई डिठ्ठा सुब्बा बडाहाकिममा नियुक्ति गर्दै छन् । राणाहरूले विदेशीसँग ऋण लिएनन्, राष्ट्रघाती सम्झौता गरेनन् तर अहिलेको श्री ३ हरू राष्ट्रघाती सम्झौता अनि ऋण अनुदान लिँदै मोजमस्ती गरेका छन् ।

स्कुलमा राजाको शासनमा श्री ३ र जहानियाँ राणा शासनको इतिहास पढेका थियौँ तर हामी अहिले दुई तिहाईका श्री ३ हरूको शासन देख्न पाउँदा आफूलाई भाग्यमानी सम्झेको छौँ ।