अष्ट्रेलियामा विश्वकै ठूलो ‘मखमली बगैँचा’ बनाउँदै नुवाकोटे युवा किरण

अष्ट्रेलियामा विश्वकै ठूलो ‘मखमली बगैँचा’ बनाउँदै नुवाकोटे युवा किरण


■ राजन घिमिरे

अष्ट्रेलियाको तास्मानियामा एक नेपाली युवाले विश्वकै ठुलो मखमली फुलबारी बनाउन सुरु गरेका छन् । फुलबारीका लागि जग्गा किन्ने काम सकिएर डिजाइन र खनजोत गर्ने कार्य सुरु भइसकेको छ ।

तास्मानियाको होबार्टबाट ३५ किलोमिटर टाढा रहेको ओरियलटनमा ७ सय १३ रोपनी अर्थात ९० एकर जमिनमा मखमली फुलको बगैँचा बनाउन लागिएको हो । जसमध्ये पहिलो वर्ष २४० रोपनीमा मखमली रोपिने तयारी छ । आगामी दुई वर्षभित्र ६ सय रोपनीमा मखमली रोपिने तयारी छ । मखमली रोप्नका लागि नेपालबाटै बिउ झिकाइएको छ । तिहारको मालाका लागि ल्याएको मखमलीलाई नै बिउको रुपमा प्रयोग गर्न लागिएको हो । बगैँचा आगामी डिसेम्बरबाट सञ्चालनमा आउनेछ ।

मखमली बगैँचा बनाउने युवा हुन् नुवाकोट स्थायी घर भएका डा. किरण थापा । सिड्नीमा रहेर मोर्गेज क्षेत्रको सफल उद्यमी बनेका थापाले अष्ट्रेलियाको फाइनान्समा पिएचडी गरेका छन् । तीन वर्षअघिको आफ्नो सपनालाई मुर्त रुप दिन थापा अहिले अष्ट्रेलियाको तास्मानियामै रहेका छन् ।

अष्ट्रेलियामा डेढ दशक बिताइसकेका सफल व्यवसायी किरण थापालाई नजिकबाट चिन्नेले प्रकृतिप्रेमी/घुमन्ते पनि भन्छन् । फुर्सद मिल्यो कि परिवार लिएर लुसुक्क चाहार्न निस्किने उनको बानी छ । किरण भन्छन्– त्यही घुमन्ते बानीले नै जुराइदिएको हो ‘पर्पल लभ’ अर्थात बैजनी माया ।

खास भएको के रहेछ भने केही वर्षदेखि किरण केही नयाँ गर्न चाहिरहेका थिए, तर के गर्ने खासै आइडिया फुरेको थिएन । यस्तैमा क्यानबेरा र टोअम्बाका केही फुल फेष्टिबलहरु घुमेपछिचाहिँ किरणले प्राकृतिक कुरालाई नै सदुपयोग गर्ने प्रकारको व्यवसाय गर्ने निधो गरे । मखमली फुलको आइडिया भने तिहारमा नेपालबाट अष्ट्रेलिया भित्रिएको मखमली माला देखेपछि फुरेको रहेछ ।

तिहारमा ल्याएको मखमली माला लगाएर केटोकटीले घरनजिकै क्रिकेट खेल्दा त्यसको बिउ जमिनमा झरेर फूलको बिरुवा उम्रिएको घटना किरण सुनाउँछन् । ‘तिहारको मालाबाट झरेको फूलको बिउबाट घरपछिल्तिरको करेसाबारीमा मखमली फूल फुलेको देखेर म छक्क परेँ’– किरण भन्छन्, ‘यत्तिकै त उम्रिन्छ भने यसलाई व्यवसायिक रुपमा उमार्न सकिन्छ कि भन्ने पहिलो सोच आयो ।’ त्यसपछि दुई वर्ष यही फूलसम्बन्धी अध्ययन–अनुसन्धान गरेपछि अन्ततः किरणले मखमली फूलको बगैँचा नै बनाउने निधो गरेका हुन् ।

गोलाकार आकारमा बन्ने मखमली फुलबारीलाई थापाले ‘पर्पल लभ’ अर्थात् बैजनी मायाको नाम दिएका छन् । यसको ब्राण्ड नामचाहिँ ‘ओ पर्पल’ हुने भएकाले फुलबारीको आकार पनि ‘ओ’ जस्तै गोलाकार बनाउन लागिएको हो ।

किरणका अनुसार पर्पल लभ फुलबारीभित्र डोम आकारका २० वटा होटलहरु पनि रहनेछन् । त्यस्तै क्याफे, साइकल सवारी, बालबालिका खेल्ने उद्यानलगायतले बगैँचाको सुन्दरतामा चमक ल्याउने छन् । ‘ओ पर्पल’ ब्राण्डका फेसन कपडा समेत उत्पादन गर्ने किरणको लक्ष्य छ । पर्पल लभमा वार्षिक एक लाख पर्यटक भित्र्याउने उनको तयारी छ । होबार्टमा वार्षिक १३ लाख पर्यटक आउने गरेको तथ्यांक पेश गर्दै किरण भन्छन्, ‘तीमध्ये हाम्रोमा एक लाख त कसो नआउलान् ?’

(यो लेख नेपालट्यूबडटकमडटएयूका सरल गुरूङको सहयोगमा तयार पारिएको हो ।)