रोकथाम र उपचारको मूल जिम्मेवारीबाट सरकार पन्छिन खोजेको आरोप

रोकथाम र उपचारको मूल जिम्मेवारीबाट सरकार पन्छिन खोजेको आरोप


नेपाल सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै पनि गम्भीर नभएको आरोप नेपाली कांग्रेसले लगाएको छ । सह–महामन्त्री एवं कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाश शरण महतले सरकारद्वारा लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेका आरोप समेत लगाएका छन् ।

डा. महतले उपत्यकामा फेरि निषेधाज्ञा थपिएको सन्दर्भ औंल्याउँदै अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो रहेको तर्क गरेका छन् । निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिँदो छ तर संक्रमण बढ्ने क्रम भने कम नभएकोतर्फ ध्यानाकर्षण गराउँदै कांग्रेस सहमहामन्त्री महतले निषेधाज्ञा लगाउने–नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोजेको जिकिर गरेका छन् ।

उनले एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्– ‘नेपाली कांग्रेसको तर्फबाट कोभिड–१९ अनुगमन समितिले केही दिन अगाडि १३बुँदे ध्यानाकर्षणसहित सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक—सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरेको थियो । तर सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी देखिएन । हामी सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्दछौँ । साथै, तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न फेरि पनि माग गर्दछौँ ।’

उद्योग व्यापार क्षेत्रमा परेको असरलाई सम्बोधन गर्न कांग्रेसको माग

यसैगरी कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि लागु गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग बाणिज्य क्षेत्रमा परेको असरलाई तुरुन्त समुचित सम्बोधन गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

पार्टीको उद्योग तथा व्यापार केन्द्रीय विभागको बुधबार भएको भर्चुअल बैठकले बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग तथा व्यापार क्षेत्रले आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नु परेको र थुप्रै उद्योगधन्दा तथा व्यापार व्यवसायको क्षेत्र बन्द हुने परिस्थितिमा पुगिसकेको जनाएको छ । विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा कोरोनाले उद्योग व्यवसायमा पारेको प्रभाव र यसको समाधानका विषयमा छलफल भएको थियो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि आक्रान्त बनाएको छ । नेपालमा पनि सङ्क्रमणको दर बढ्दो रूपमा देखिएको छ भने देशको आधाभन्दा बढी भूभागमा यतिबेला बन्दाबन्दीदेखि निषेधाज्ञा जारी रहेकोले नागरिकको जीवन कष्टकर बन्दै गएको छ । बैठकले चाँडै नै उद्योग व्यवसायको क्षेत्रमा रहेका विभिन्न सङ्घ संस्था तथा विभिन्न व्यक्तिहरुसँग छलफल गर्नेसमेत निर्णय गरेको विभागका सचिव दीर्घमान श्रेष्ठले जानकारी दिएका छन् ।