सनत आचार्य
कोभिड संक्रमणका कारण गत चैत्र महिनादेखि बन्द भएको अन्तर्राष्ट्रिय उडान खुलेसँगै नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक वायुसेवा ‘नेपाल वायुुसेवा निगम’का कर्मचारीहरूको चरम लापर्वाहीका कारण निगमलाई करोडौँ घाटा हुने भएको छ भने आफ्नो घर–आँगनमा ओर्लिएका यात्रु र उनका परिवारले अनावश्यक मानसिक यातना ब्यहोर्नुपरेको छ ।
बुधबार (१७ भदौ) बिहान करिव १० बजे जापानको नारिता विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको विमान निगमकै कर्मचारीका कारण उडानका २ सय ५ जना यात्रु होटल क्वारेन्टिनमा बस्न बाध्य भएका छन् ।
जापानको नारिताबाट एक जना जापानीसहित २ सय १५ नेपाली यात्रु लिई काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको आरए ४३४ नम्बरको उडानमा पिसिआर नगरेका र पिसिआर जस्तै अन्य परीक्षण गरेका यात्रुलाई मिसाएर ल्याउँदा अहिले पर्यटन मन्त्रालय र निगमभित्र हल्लिखल्ली मच्चिएको छ ।
जापानस्थित निगमका कर्मचारीले एक जना यात्रुले आरडिटी गरेको र अन्य २ जनाले पिसिआर जस्तै अन्य परीक्षण गरेको, साथै उक्त परीक्षण रिपोर्ट जापानी भाषामा भएकोले बुधबार जापानबाट आएका अधिकांश यात्रुहरू होटल क्वारेन्टिनमा बस्नु परेको छ । सरकारद्वारा बनाइएको शर्त र नियमहरूलाई हेर्ने हो भने यो गल्ती यात्रुको नभई निगमका कर्मचारीहरूको देखिन्छ ।
उक्त उडानमा रहेकामध्ये एक जना जापानी दुतावासका कर्मचारी रहेको बुझिएको छ । उनी र अन्य तीन जनालाई होम क्वारेन्टिनमा पठाइएको छ भने ६ जनालाई प्रदेशतर्फ पठाइएको स्रोतले जानकारी दिएको छ ।
नेपाल सरकारले यात्रु र यात्रासम्बन्धी अनेकौँ परिपत्र जारी गर्दा पनि किन कर्मचारीहरू लापर्वाही गर्दछन् ? सरकारद्वारा तर्जुमा गरिएका नीति–नियमलाई पालना नगर्ने कर्मचारीलाई तालुकदार निकायले किन तत्काल कडा कारवाही गर्दैन भन्नेबारे यात्रु र यात्रुका आफन्तहरूले प्रश्न उठाएका छन् ।
यससम्बनधी जिज्ञासामा सिसिएमसीका मिडिया समुहका सदस्य सन्तोष बल्लभ पौडेलले सिसिएमसीको काम भनेको आवश्यक नीति नियम निर्माण गर्ने र सम्बन्धित निकायलाई अनुरोध गर्ने बताए । सरकारद्वारा निर्माण गरिएका नीति–नियमहरू सम्बन्धित निकायले पालना गर्नुपर्ने दायित्व रहेको उनको भनाई छ ।

नीति–नियमलाई पालना नगर्नेहरूले त्यसबाट उत्पन्न लाभ–घाटा र जनस्वास्थ्यमा पर्ने असरका विषयमा पनि सम्बन्धित एअरलाइन्सले नै सोच्नुपर्ने पौडेल बताउँछन् ।
त्यस्तै, स्वास्थ्य प्रोटोकल पालन गर्ने जिम्मेवारी यात्रु र वायुसेवाको भएको हुनाले यसबाट उत्पन्न हुने परिस्थितिको परिणाम सम्बन्धित निकायले व्यहोर्नु पर्ने तर्क उनले गरे ।
पर्यटन मन्त्रालयका सहसचिव एवम् हवाईमहाशाखा प्रमुख बुद्धिसागर लामिछानेले बुधबारकोे जापानको फ्लाइटबारे आफू जानकार नभएले यसबारे बुझ्ने बताए । उनले कारवाही गर्ने दायित्व आफ्नो नभएको र सोको निर्णय मन्त्रालयले गर्न सक्ने पनि बताए ।
सरकारद्वारा व्यवस्था गरिएको उडान सञ्चालन गर्न पालना गर्नुपर्ने शर्तहरू के छन् ?
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा २०७७ भाद्र ९ गते उडान संचालनसम्बन्धी परिपत्रमा उडान संचालन गर्न पालना गर्नुपर्ने शर्तहरू उल्लेख गरिएको छ जसमा पहिलो शर्तमै उडान गर्नुभन्दा ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट नेगेटिभ भएका यात्रु मात्र ल्याउन पाइने उल्लेख गरेको छ । त्यस्तै, उक्त परिपत्रमा पिसिआर परिक्षण टेष्ट नेगेटिभ भएको सुनिश्चित गरेर मात्र सम्बन्धित वायुसेवाले बोर्डिङ पास उपलब्ध गराउने पनि उल्लेख छ ।
त्यस्तै ४ नम्बर बुँदामा एउटै उडानमा आरटि–पिसिआर परीक्षण गरेका र नगरेका यात्रुहरू मिसाएर ल्याउन पाइने छैन भन्नेप्रष्टै उल्लेख छ । कुनै वायु सेवाले मिसाएर ल्याएको पाइएमा उक्त वायुसेवाले आफ्नो खर्चमा उक्त उडानका सबै यात्रुहरुलाई सात दिन होटल क्वारेन्टिनमा अनिवार्य राख्ने उल्लेख गरिएको छ ।
त्यस्तै, सिसिएमसीको मिति २०७७ साउन १५ को बुँदा ३ को निर्णयमा व्यवसायिक उडानबाट नेपाल आउने यात्रुसँग यात्रा शुरु गर्नुभन्दा ७२ घण्टाभित्रको पिसिआर परीक्षण नेगेटिभ भएको प्रमाणपत्र, कम्तिमा ७ दिनको उपत्यकाको तोकिएका होटलहरू बुक गरेको प्रमाण अनिवार्य गर्नुपर्ने छ । यस्ता प्रमाण भएका व्यक्तिहरूलाई मात्र हवाई कम्पनीहरूले टिकट इस्यु गर्ने । यस्ता यात्रुहरुले कम्तीमा ७ दिन अनिवार्य रूपले होटेल क्वारेन्टिनमा बस्नुपर्ने र नीजि खर्चमा पुनः पिसिआर परीक्षण गरी नेगेटिभ नतिजा आएमा थप ७ दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर होम क्वारेन्टाइनमा अनिवार्य रुपले बस्ने गरी अनुमति दिन सक्ने उल्लेख गरेको छ ।
विरोधाभाष नीति :
सिसिएमसीले हवाई यात्रुले पिसिआर परीक्षण नेगेटिभ हुनुपर्ने, होटल बुकिङ कन्फर्मेशन र होटेल क्वारेन्टिन अनिवार्य भनेता पनि पर्यटन मन्त्रालयको शर्तमा भने होटल बुकिङ र होटेल क्वारेन्टिन अनिवार्य गरिएको छैन । पछिल्लो अभ्यासअनुसार विदेशबाट आउने यात्रुहरु अहिले सम्बन्धित प्रदेशमा सिधै जाने गरेका छन् । यसको निगरानी गर्ने जिम्मा सम्बन्धित स्थानीय निकायलाई दिइएको छ ।

समय–समयमा परिबर्तन हुने सरकारको निर्णय समेत विदेशस्थित दुतावास र सम्बन्धित निकायलाई तत्काल नपुग्दा ती निकायमा अन्यौलता बढेको देखिन्छ । नेपाल भत्र पनि अन्तरमन्त्रालय समन्वय नहुँदा नीति कार्यान्वयनमा समस्या देखिएको छ । यसको प्रत्यक्ष मार यात्रु र यात्रुको आफन्तमा परेको छ ।
सरोकारवालाको कमजोरी :
उडानसम्बन्धी सरोकारवालामध्ये मुख्य सरोकारवालाहरूमा पर्यटन मन्त्रालय, सिसिएमसी, नागरिक उड्यान प्राधिकरण, वायु सेवा संचालक र टिआईए मुख्य छन् तर सरकारले लामो समयपछि वायुसेवाका उडानहरुलाई केही खुकुलो बनाएतापनि सरोकारवालाहरुको कमजोरी भने हेरेक स्थानमा देखिएको छ ।
उपत्यकाका विभिन्न पार्टी प्यालेसहरुलाई होल्डिङ सेन्टर बनाइएता समय समयमा परिवर्तन हुने स्थानका कारण यात्रुका आफन्तहरू लिनका लागि कहाँ जाने भन्ने अन्योलमा देखिन्छन् । सरकारले स्थायी रुपले होल्डिङ सेन्टर तोकेता पनि यात्रु संख्यामा कमी भएका कारण प्रदेशका लागि लोकिएको सेन्टरमा यात्रु नभेटिँदा यात्रु अल्मिलिने मात्र हैन, दिक्दार समेत भएको देखिन्छ ।
त्यस्तै त्रिभूवन अन्तराृष्ट्रिय विमान स्थलले जारी गर्ने प्रेस विज्ञप्ति आफैमा झारा टार्ने मात्र देखिन्छ । यहाँबाट प्रेशित अधिकांश विज्ञप्तिमा यात्रु संख्यालगायत सञ्चार क्षेत्रले चाहेका सूचना समेत प्राप्त गर्न गाह्रो देखिएको छ ।
विमान स्थलमा राति ८ बजेसम्म विदेशबाट आएका विमान अवतरण गर्ने तालिका भए तापनि पाँच बजे जारी गरिएको विज्ञप्ति अत्यन्त गैरजिम्मेवारीपूर्ण र जनउत्तरदायीविहीन देखिन्छ । उक्त विज्ञप्तिमा उडान र अवतरणको समय, यात्रु संख्या आदि उल्लेख गर्ने भए तापनि टिआइएले यस्तो कुनै जानकारी दिने गरेको देखिँदैन ।
प्रतिक्रिया