कार्गो पानीजहाजको दुर्घटनामा ५,८०० गाई मरे

कार्गो पानीजहाजको दुर्घटनामा ५,८०० गाई मरे


न्यूजील्यान्डबाट चीनतर्फ गाईवस्तु लिएर गइरहेको एउटा विशाल कार्गो पानीजहाज जापानी समुद्री क्षेत्रमा डुबेको छ । जापानी उद्धारकर्ताहरुले शुक्रबार (४ सेप्टेम्बर) चालक दलको दोस्रो व्यक्तिलाई उद्धार गरेका समाचार एपीले सम्प्रेषण गरेको छ ।

जापानी तटीय सुरक्षा दलका अधिकारीहरुले सामुद्रिक आँधी तुफानका कारण ‘गल्फ लाइभस्टक-१’ नामको पानीजहाज बुधबार बिहान डुबेको बताएका छन् । उद्धारकर्ताहरुले पूर्वी चीन सागरको अमामी ओशिमा द्वीपको उत्तरपश्चिम करिब १२० किलोमिटरको दूरीमा चालक दलका दोस्रो व्यक्ति अचेत अवस्थामा फेला पारेका थिए । तर, उपचारका लागि अस्पताल भर्ना भए पनि उनलाई बचाउन नसकिएको बताइएको छ ।

जापानी क्षेत्रीय तटीय सुरक्षा दलका प्रवक्ता ताकाहिरो यामादाले समुद्रमा मरेका गाईहरु तैरिएको देखिएको जानकारी दिएका छन् ।

करिब ११ हजार ९४७ टन वजनको उक्त पानीजहाजमा ४३ जना चालक दलका सदस्य र पाँच हजार आठ सय गाई रहेका थिए । उक्त जहाज मध्य अगष्टमा न्यूजील्याण्डबाट चीनको पूर्वी शहर ताङ्शानतर्फ हिँडेको थियो ।

न्यूजील्यान्डका अधिकारीहरुले उक्त दुर्घटनापछि जिउँदा गाई चीनतर्फ निकासी गर्न तत्कालका लागि बन्द गरिएको र घटनाको अनुसन्धान शुरु भएको बताएका छन् ।

उक्त पानीजहाजबाट एक जना चालक दलका सदस्य ४५ वर्षीय फिलिपिनो नागरिक एडभार्डो सारेनोलाई बुधबार उद्धार गरिएको थियो । एडभार्डोले जहाजको एउटा इन्जिन बन्द भएर जहाज रोकिएकै समयमा निकै शक्तिशाली आँधीले जहाज हल्लाएको र डुब्न पुगेको बताएका छन् ।

एडभार्डोले आफू लाइफज्याकेट लगाएर समुद्रमा हाम फालेको तर अरु साथीहरुका बारेमा आफूलाई केही थाहा नभएको बताएका छन् ।

पानीजहाजमा ३९ जना फिलिपिनी, दुई जना न्यूजील्यान्ड र दुई जना अस्ट्रेलियाका नागरिक चालक दलका सदस्य रहेको बताइएको छ ।