बेरुत विस्फोटको भग्नावशेषभित्र एक व्यक्तिको मुटुको धडकन चलिरहेको संकेत !

बेरुत विस्फोटको भग्नावशेषभित्र एक व्यक्तिको मुटुको धडकन चलिरहेको संकेत !


बेरुत विस्फोटको एक महिनापछि भग्नावशेषमा एक व्यक्ति अझै जीवित रहेको हुन सक्ने रिपोर्टको आधारमा उद्धारकर्मीहरूले खोजी जारी राखेका छन् ।

शहरको बन्दरगाहमा भएको विशाल विस्फोटको एक महिनापछि भग्नावशेषभित्र जीवित व्यक्ति पाउने चमत्कारी आशासहित खोजीलाई निरन्तरता दिइएको हो ।

गत अगस्त ४ को उक्त दुःखद विस्फोटले १९१ व्यक्तिको ज्यान लिएको थियो । लेबनानमा शान्ति स्थापनापछिको सबैभन्दा घातक घटना मानिएको यस दुर्घटनामा सात व्यक्ति अझै हराइरहेको सूचीमा रहेका छन् ।

बिहीबार एक विशेषज्ञ उपकरणले एउटा घरको भग्नावशेषमा च्यापिएको अवस्थामा एक व्यक्तिको मुटुको धडकनको सङ्केत पाइएको बताएपछि खोजीलाई निरन्तरता दिइएको एएफपीले जनाएको छ ।

चिली र लेबनानका उद्धारकर्मीहरूले शुक्रबार (४ सेप्टेम्बर) हातहतियार प्रयोग गरेर नै भवनको भग्नावशेष हटाउने प्रयास गरेका थिए । तर अँध्यारो तथा सिमेन्टले बनेका घरका अवरोधलाई हातले हटाउन कठिनाइ भएपछि गेम्माएजेह र मार मिखाइलबीचको उक्त स्थानमा केही घण्टा उद्धारकार्यलाई रोकिएको थियो । रातभरको तयारीपछि उनीहरूले आफ्नो प्रयासलाई पुनः सुरु गरेको बताइएको छ ।

लेबनानको नागरिक प्रतिरक्षाका जर्ज अबू मौसाले भन्नुभयो, ‘हामीले अवरोधलाई हटाएका छौँ तर हामी भग्नावशेषमा मानिस जीवितै पाइने विश्वासलाई अझै गुमाएका छैनौँ ।’

चिली र लेबनानी उद्धारकर्ताहरूसँग समन्वय गरिरहेका निकोलस सादेले शुक्रबार पत्ता लगाएको धड्कन पहिलेको रेकर्डिंङको तुलनामा सुस्त भएको पाइएको बताइएको छ ।

भग्नावशेषको ठूला भागहरू हटाएपछि फेरि मुटुको धड्कन वा श्वासप्रश्वासका लागि ‘स्क्यान’ गर्दा धड्कन र श्वासप्रश्वासका सङ्केत बिहीबारको तुलनामा कम देखाएको, अर्थात् प्रतिमिनेट सात पटक धड्कन मापन गरिएको सम्बद्ध उद्धारकर्ताहरुले जनाएका छन् । बिहीबार मुटुको धड्कन प्रति मिनेट १६ देखि १८ पटक मापन गरिएको थियो ।

तथापि, उद्धारकर्मीले जीवितै उद्धार गर्ने झिनो आशासहित कामलाई निरन्तरता दिएका छन् ।