बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् । शनिबार (५ सेप्टेम्बर) बिहान दिइएको सूचनामा उक्त घटनामा १२ जनाको मृत्यु भएको बताइएको थियो ।
उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू सख्त घाइते भएका छन् । नारायणगञ्जको मध्यक्षेत्रमा रहेको उक्त मस्जिदमा शुक्रबार साँझ इस्लाम धर्मावलम्बीहरूले प्रार्थना गरिरहेका समय एक्कासी विस्फोट हुँदा त्यहाँबाट आगोको ठूलो ज्वाला निस्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
बिरामीको उपचारमा संलग्न अस्पतालका संयोजक लाल सेनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए । घाइतेमध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका एएफपीले जनाएको छ । स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो ।
अधिकारीहरुले ग्यास चुहावटको कारण भुइँ तलामा रहेका एयर कन्डीसनरमा आगलागी भएपछि मस्जिदको अन्य भागमा उक्त आगो फैलिएको बताइएको छ । घटना भएको बेला मस्जिदमा झण्डै एक सय भक्तजनहरू प्रार्थनाका लागि उपस्थित रहेका थिए ।
प्रतिक्रिया