भारतमा एकै दिन ९० हजार भन्दा धेरै संक्रमित, २४ घण्टामा १,०६५ जनाको मृत्यु

भारतमा एकै दिन ९० हजार भन्दा धेरै संक्रमित, २४ घण्टामा १,०६५ जनाको मृत्यु


भारतमा कोभिड-१९ बाट एकै दिनमा ९० हजार भन्दा धेरै व्यक्ति संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ९० हजार ६ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको आधिकारिक तथ्याङ्क उपलब्ध गराइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार एकै दिनमा यतिका संख्यामा संक्रमित भेटिएको यो पहिलो हो । बितेको २४ घण्टामा भारतमा १,०६५ जनाको कोरोनाका कारण मृत्यु भएको र हालसम्म ७० हजार ६ सय २६ जनाको मृत्यु भएको पनि जनाइएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा भारतमा ७० हजार ७२ जना कोरोनाका बिरामी संक्रमणमुक्त भएको जनाइएको छ । एकै दिन यति संख्यामा संक्रमित निको भएका पनि भारतमा यो पहिलो भएको जनाइएको छ ।

जोन्स हपकिन्स युनिवर्सिटीले जनाएअनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या २ करोड ६६ लाखभन्दा धेरै रहेको छ भने आजसम्म ८ लाख ७६ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।